महेन्द्रनगर, ९ जेठ
कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको बेला कालोबजारी बढेको गुनासो आउन थालेपछि आइतबार यहाँ बजार अनुगमन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको अगुवाइमा प्रहरी, आन्तरिक राजश्व कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय लगायतका सरोकारवाल निकायले महेन्द्रनगर बजार अनुगमन गरेका हुन ।
बजार अनुगमनका क्रममा यहाँको गल्ली नं. ३ स्थित बालाजु किराना पसलमा मलाखाद लुकाएर राखेको अवस्थामा भेटिएपछि प्रशासनले उक्त पसल सिल गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता अमरबहादुर थापाले सिल गरिएको पसलको थप अनुसन्धान प्रशासनले गरिरहेको बताउनुभयो । उक्त किराना पसल सञ्चालकले तीन सय बोरा मलखाद बेदकोट नगरपालिका क्षेत्रमा लुकाएर राखेको अवस्थामा समेत भेटिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
उक्त मलखाद भारतीय मुलका व्यापारी रुपकिशोर गुप्ताको भएको बुझिएको छ ।
स्थानीय प्रशासनले सोमबार बेदकोटको सुडामा लुकाएर गोदाममा पनि सिल गर्ने तयारी गरेको छ ।
“ अरु ६÷७ वटा पसलबाट पनि म्याद नाघेका सामान समेत नियन्त्रणमा लिएका छौं ।” प्रवक्ता थापाले भन्नुभयो–“ यस्तो महामारीका बेला कालोबजारी गर्ने जोही कोहीलाई पनि छोडिन्न ।”
प्रशासनले यसअघि पनि कोरोना कहरमा जथाभावी मुल्यवृद्धि र कालोबजारी गरिएको पाइए कारबाही गर्ने चेतावनी दिएको थियो ।