महेन्द्रनगर, २७ वैशाख
कञ्चनपुरको महाकाली नदीमा निमार्णाधीन महाकाली पुल योजनाका इन्जिनियर किशोरराज पाण्डेयले सोमबार महेन्द्रनगरमा कोरोना नियन्त्रणका लागि खटिएका सुरक्षाकर्मीहरुलाई स्वास्थ्य सामाग्री वितरण गर्नुभएको छ ।
कुमार श्रेष्ठ निर्माण सेवामा आवद्ध रहेर पुल निर्माणको कार्यकारी भूमिमा रहनु भएका इन्जिनियर पाण्डेय केही दिनअघि संक्रमणबाट ग्रसित भएपछि काठमाण्डौस्थित होमआइसोलनमा बसेर कोरोना जितेका छन् ।
आफू आवद्ध संस्था यहाँको महाकाली अस्पतालमा अक्सिजन वितरणमा लागेपछि कोरोनासित संघर्षरत पाण्डेयले अक्सिजन आपुर्तीका लागि सवारीसाधन लगायतका व्यवस्थापनमा सक्रिय हुनुभएको छ ।
कोरोना नियन्त्रणका लागि अग्रपंक्तिमा रहेर प्रहरी र शव व्यवस्थापनका लागि खटिने सेनाको टोलीको स्वास्थ्य सुरक्षाका लागि भन्दै उहाँले माष्क, सेनिटाइजर, फेस सिल्ड लगायतका स्वास्थ्य सामाग्री वितरण गर्नुभएको छ ।
यहाँ रहेर इन्जिनियर पेशामा रहेका पाण्डेयले विभिन्न सामाजिक कार्यमा संलग्न हुदै आउनुभएको छ ।
गत बर्ष कोरोना कहर सुरु हुँदा पाण्डेयले महेन्द्रनगरमा सञ्चारकर्मीहरुलाई स्वास्थ्य सामाग्रीका साथै प्रेस ज्याकेट वितरण गर्नूका साथै यहाँका युवा व्यवसायीहरुले थालेको गड्डाचौकी नाकाबाट स्वदेश फर्किने नेपालीहरुलाई निःशुल्क भोजनको व्यवस्थापनमा पनि उहाँ अग्रसर हुनुभएको थियो । त्यो बेला १८ हजार नागरिकलाई सीमानाकामा भोजनको व्यवस्थापन गरिएको थियो ।