महेन्द्रनगर । कोभिड १९ को दोस्रो लहरको संक्रमणले अस्पतालमा अक्सिजन नपाएर संक्रमितले मृत्युवरण गरिरहेका बेला कञ्चनपुरका विभिन्न संघ संस्थाहरुले दैनिक ५० वटा अक्सिजन सिलिण्डर निःशुल्क महाकाली अस्पताललाई उपलब्ध गराउने भएका छन ।
कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंग वहादुर मल्लको पहलमा कञ्चनपुर मदिरा व्यवसायि संघ,कञ्चनपुर औषधी व्यवसायी संघ,मण्डी व्यवसायि संघ र सुनचादी व्यवसायि संघले अस्पताललाई १० दिन सम्म दैनिक ५० वटा अक्सिजन सिलिण्डर उपलब्ध गराउने सम्झौता गरेका छन । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंग वहादुर मल्लले अस्पतालमा कोरोना संक्रमितहरु अक्सिजन नपाएर मृत्युवरण भइरहेको छ यस कठिन समयमा सहयोग गर्नु हाम्रो दायित्व भएको बताए । त्यसैगरी महाकाली अस्पतालका अध्यक्ष कृष्णदत्त जोशीले सहयोगी व्यवसायिहरुले देखाएको सहयोगी भावले संक्रमितको स्वास्थ्य उपचारमा सहजता आउने बताए । महाकाली अस्पतालमा कोरोना संक्रमितको चाप दिन प्रतिदिन बढ्दै गइरहेको छ। अस्पतालका आईसीयू बेड संक्रमितले भरिएका छन ।