कञ्चनपुरको महाकाली अस्पतालमा मंगलबारसम्म अस्पताल भर्ना भएका २ सय ५६ संक्रमितमध्ये १ सय ९८ जना निको भएर घर फर्किएका छन् । संक्रमित बिरामी ७ देखि १० दिनमा निको हुने गरेको छ । बढीमा १० दिनमा डिस्चार्ज गर्दै आएको अस्पतालका कोरोना फोकल पर्सन डा. गोविन्द रोकाया बताउँछन् ।‘हामीकहाँ आईसीयूमा भर्ना भएका बिरामी कम डिस्चार्ज भइरहेका छन्,’ महाकाली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हरि श्रेष्ठले भने, ‘एचडीयू र नर्मल आइसोलेसनमा डिस्चार्ज हुने दर राम्रो छ ।’ उनका अनुसार अस्पतालमा उपचाररतमध्ये १६ जना आइसीयूमै मृत्यु भएको छ । 

आईसीयू वार्डमा जनशक्तिको अभावका कारण पनि सेवा प्रभावकारी हुन सकेको छैन । ६ बेडका लागि अहिले ४ जना मात्रै स्वास्थ्यकर्मीले आईसीयू वार्ड हेरिरहेका छन् । एक भेन्टिलेटरका लागि कम्तीमा एक जना नर्स र ३ भेन्टिरलेटरका लागि एक जना चिकित्सक आवश्यक हुन्छ तर अहिले दिनभरि २ जनाले मात्रै काम गर्नुपरेको उनले बताए । महाकाली अस्पतालबाट मंगलबार ११ जना डिस्चार्ज भएका छन् । अस्पतालका कोरोना फोकल पर्सन डा. द रोकायाका अनुसार एडीयूमा उपचाररत ३ जना र आइसोलेसनमा रहेका ८ जना कोरोना जितेर घर फर्केका हुन् । यस्तै, आईसीयूमा उपचाररत २ जनालाई सामान्य आइसोलेसनमा सिफ्ट गरिएको छ । ‘दैनिक २० प्रतिशत बिरामी निको भएर घर गइरहेका छन्,’ डा. रोकायाले भने ।