महेन्द्रनगर । कोरोनाको संक्रमण तिब्र फैलिन थालेपछि कञ्चनपुरमा एक साता (आजदेखी) निषेधाज्ञा गरिएको छ । नयाँ भेरियन्टसहितको कोभिड १९ को संक्रमण उच्चस्तरमा बढ्दै जान थालेपछि जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले वैशाख १६ देखि २२ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो । सो अवधीमा अत्यावश्यक बाहेकका सबै सेवा स्थगन गरिएको छ । तरकारी, फलफूल तथा खाद्य सामग्रीका पसल जनस्वास्थ्यको सुरक्षा मापदण्डको पूर्ण रुपमा पालना गर्ने गरी बिहान ६ देखि ९ बजेसम्म सञ्चालन गर्न पाइने छ ।

सरकारी कार्यालय लगायतका सार्वजनिक सेवा प्रदायक संस्था एवं अत्यावश्यक काम तथा विकास निर्माण कार्यमा प्रयोग हुने ढुवानीका साधनको हकमा सम्बन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिसको आधारमा प्रमुख जिल्ला अधिकारीबाट जारी भएको सवारी पास लिई सवारी साधनको प्रयोग गर्न पाइने जनाइएको छ । नेपाल सरकारका कर्मचारी, बैंक तथा वित्तीय संस्था र अन्य अत्यावश्यक सेवामा कार्यरत कर्मचारीहरुको हकमा कार्यालयले जारी गरेको परिचयपत्रको आधारमा आवतजावत गर्न दिइने ।सञ्चारकर्मीको हकमा नेपाल पत्रकार महासंघको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट जारी भएको पासको आधारमा आवतजावत गर्न सकिने छ । विवाह, ब्रतबन्धको हकमा बढीमा १५ जनासम्म जनस्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्ने गरी प्रमुख जिल्ला अधिकारीको पूर्व अनुमति लिएर मात्र गर्न पाइने छ । नियम उल्लघन गरे कार्बाह ीगर्ने प्रशासनले जनाएको छ ।