महेन्द्रनगर । कोरोना संक्रमणको दोस्रो लहर बढेसँगै सुदूरपश्चिम प्रदेश उच्च जोखिममा छ। दिनहुँ कोरोनाका बिरामी बढेका छन्, उनीहरूको अवस्था दिनदिनै गम्भीर हुँदै गएको छ। कतिले ज्यान गुमाएका छन्।

तर गम्भीर संक्रमितको उपचारका लागि अस्पतालमा चाहिने सुविधा अभाव छ। जिल्ला अस्पताल बझाङमा ३ बेडको आइसियु र २ वटा भेन्टिलेटर जनशक्ति अभावमा थन्किएका छन्। जिल्ला अस्पतालमा पनि २ आइसियू र २ भेन्टिलेटर रहेकोमा सञ्चालन गर्ने जनशक्ति छैन।दार्चुला अस्पतालमा अक्सिजन सिलिण्डर ३५ वटा भए पनि त्यसमा चाहिने रेगुलेटर, चाबी र अरू टेक्निकल कुरा बढीमा ३ सेट मात्र छन्। १५ बेडको अस्पतालमा ४५ बेड चलाइएको छ। अस्पतालमा कर्मचारी ४० जनामात्रै छन्।

सेती प्रादेशिक अस्पतालमा क्षमताभन्दा बढी बिरामी छन्।अस्पतालले क्षमताभन्दा बढी कोभिडका बिरामी आउन थालेपछि व्यवस्थापनमा समस्या सुरू भएको जनाएको छ।अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले नर्सिङ स्टाफको कमी हुन थालेको बताए। ‘रूटिनमा काम गर्नुपरिरहेको छ। एक सिफ्टका लागि ८ जना नर्सिङ कर्मचारी चाहिनेमा ४ वटाले काम गर्नु परिरहेको छ,’ उनले भने।अस्पतालमा भएका भौतिक संरचनाले नभ्याउने अवस्था आएको सेती र महाकाली अस्पतालले जनाएका छन्।

कञ्चनपुरको महाकाली अस्पतालमा भएका आइसोलेसनका ५० बेड भरिएका छन्। आइसियू बेड ६ वटा रहेकोमा अहिले खाली कुनै बेड छैन। आपतकालीन अवस्थाका लागि बनाइएको १८ बेड मात्र खाली छन्। महाकाली अस्पतालमा ६ आइसियू र ५ वटा भेन्टिलेटर छन्। अछाम, डोटी, बैतडी र बाजुराका जिल्ला अस्पतालमा २/२ वटा आइसियू र भेन्टिलेटर छन्। डडेल्धुरा अस्पतालमा भने ८ आइसियू बेड र ४ भेन्टिलेटर छन्।