काठमाडौँ : चिकित्सकलगायतका स्वास्थ्यकर्मी संक्रमितको उपचारमा केन्द्रित हुनुपर्ने भएपछि सरकारले ओपीडी सेवा तत्काललाई बन्द गर्न अस्पतालहरूलाई निर्देशन दिएको छ । आकस्मिक सेवा भने यथावत् सञ्चालन हुनेछ । स्वास्थ्य मन्त्रालयले अस्पतालहरूलाई सघन उपचार तथा आकस्मिक उपचारसम्बन्धी आवश्यक उपकरण र अक्सिजनको व्यवस्था तत्काल गर्न पनि भनेको छ ।

कोरोना संक्रमितको संख्या बढेकाले बिदामा बसेका स्वास्थ्यकर्मीलाई काममा फर्कन पनि मन्त्रालयले निर्देशन दिएको छ । मुलुकभरिका सरकारी अस्पताल संक्रमितले भरिएपछि अपुग जनशक्ति व्यवस्थापन गर्न चिकित्सकलगायतलाई लामो बिदा नदिन र यसअघि लामो बिदामा बसेकालाई तुरुन्त कार्यालयमा हाजिर हुनका लागि पत्राचार गर्न निर्देशन दिएको हो । सुदूरपश्चिम र कर्णाली प्रदेशका दरबन्दी भए पनि कर्मचारीले भनसुन गरेर अन्यत्र काजमा र बिदामा बसेको पाइएको छ ।