महेन्द्रनगर । कोरोना भाइरस संक्रमणको दोस्रो लहरबाट अति प्रभावित जिल्लाहरूमा स्थानीय प्रशासनले धमाधम निषेधाज्ञा जारी गर्न थालेका छन्। बाँके, सुर्खेत, कास्की, पर्सा, दाङ, कैलाली, कञ्चनपुरलगायत जिल्लामा निषेधाज्ञा घोषणा गरिएको हो। यस्तै, काठमाडौं, ललितपुर र भक्तपुरमा वैशाख १६ गतेदेखि लागू हुने गरी निषेधाज्ञाको निर्णय भएको छ।  

सुदूरपश्चिम प्रदेशका तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा निषेधाज्ञा जारी भएको छ। बिहीबारदेखि लागू हुने गरी दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीले मंगलबार निषेधाज्ञाको निर्णय गरेका हुन्।  जिल्ला कोभिड व्यवस्थापन समितिको सिफासिरमा जिल्ला प्रशासन कार्यालय कैलालीले वैशाख १६ गतेदेखि कैलालीमा लकडाउन गर्ने निर्णय गरेको छ। मंगलबार बसेको सर्वदलीय बैठकले पनि कोरोनाका बिरामीको संख्या एकदमै बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयलाई लकडाउन गर्न सहमति दिएको थियो।

यसअघि सोमबार कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीको धनगढीमै बसेको संयुक्त बैठकले दुवै जिल्लामा रात्रीकालीन लकडाउन मात्रै गर्ने निर्णय गरेको थियो। त्यो निर्णयको सामाजिक सञ्जालमा चर्को विरोध भएको थियो।  भारतबाट फर्किने नेपालीमा अनुपातमा दैनिक १ सयभन्दा बढीमा कोरोना देखिन थालेपछि अवस्था खतरापूर्ण भएकाले निषेधाज्ञा जारी गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए।

‘भारतबाट आउनेहरूलाई घर आउन रोक्न सकिँदैन। तर, सामान्य रूपमा भारत जानमा रोक लगाउने निर्णय गरिएको छ। अहिलेको कोरोनाको चेन ब्रेक गर्न पनि निषेधाज्ञा लगाउनु परेको हो। १६ गतेदेखि एक साताका लागि जिल्लाभरि निषेधाज्ञा जारी गर्ने निर्णय गरेका छौं,’ प्रमुख जिल्ला अधिकारी रिजालले भने। कैलालीमा सक्रिय संक्रमितको संख्या १ हजार नाघेको छ। पीसीआर गरेका ४ सय ६१ र ६ सयभन्दा पनि बढी ऐन्टिजेन परीक्षण गरेका गरी हजारभन्दा बढी पोजेटिभ रहेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र सिंह कार्कीले बताए ।

मंगलबार मात्रै कैलालीमा १ सय ७५ जना संक्रमित (पीसीआर) थपिएका छन्। भारतबाट फर्केका ७० जनामा पनि कोरोना पोजेटिभ देखिएको छ। मंगलबार धनगढी प्रयोगशालाको पीसीआर र भारतबाट फर्केकाहरूको गौरीफन्टामा गरिएको एन्टिजेन परीक्षणमा २ सय ४५ जनामा कोरोना पुष्टि भएको छ।  कैलाली र कञ्चनपुरका अस्पतालहरूमा गम्भीर प्रकृतिका बिरामी बढेपछि, आईसीयू भेन्टिलेटरको अभाव भएको छ। मानिसहरू उपचार नपाएर छटपटिन थालेका छन्। दोस्रो चरणको कोरोनाको संक्रमण फैलिएपछि कैलाली र कञ्चनपुरका अस्पतलमा मात्रै ८ जनाको मृत्यु भइसकेको छ। 

कञ्चनपुरका पनि वैशाख १६ गते बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लागू गरिएको छ। उक्त अवधिमा अत्यावश्यक सेवा बाहेकका सबै बन्द रहने छन्। निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेक सबै सवारी साधन बन्द रहने प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताए।