महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका २ जना कोरोना संक्रमितको शनिबार उपचारका क्रममा मृत्यु भयो । एक जनाको महाकाली अस्पतालमा र अर्का एक जनाको सेती अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । दुवै जना एक साताअघि भारतबाट फर्किएका हुन । महाकाली अस्पतालमा मृत्यु भएका भीमदत्त नगरपालिका–१८ का ४० वर्षीय पुरुष रुघाखोकीको समस्या देखिएर एक साताअघि मात्रै अस्पताल भर्ना भएका थिए । उनलाई तीन दिनदेखि आईसीयुमा राखेर उपचार गरिएको थियो । शनिबार दिउँसो उपचारकै क्रममा मृत्यु भयो ।

सेती अस्पतालमा मृत्यु भएका भीमदत्त–१८ का ५२ वर्षीया महिलाको पनि शनिबारै मृत्यु भएको हो । उनी पनि एक साताअघि भारतबाट फर्केकी हुन । स्वास्थ्यमा समस्या देखिएपछि उनी आफै सेती अस्पतालमा भर्ना भएकी थिइन । उनको मृत्युपछि संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । ‘अवस्था गम्भीर बन्दै गइरहेको छ, संक्रमितको संख्या दिन प्रतिदिन थपिँदै छ ।’ जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड फोकल पर्सन सिद्धराज भट्टले भने– ‘सबैले सचेत भएर स्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ ।’ उनका अनुसार खुला सिमाना र लापरबाहीका कारण संक्रमण दिन प्रतिदिन बढ्दै गएको छ ।

शनिबार कञ्चनपुरमा पीसीआर परीक्षण गराएकामध्ये १० जनामा र एन्टिजेन परीक्षण गराएकामध्ये ३६ जनामा संक्रमण देखिएको छ । गड्डाचौकी नाकामा २ सय ४९ जनाको परीक्षण गर्दा १८ जनामा संक्रमण देखिएको हो । ‘संक्रमित बढेसंँगै गम्भीर खालका बिरामीहरू थपिन थालेका छन ।’ महाकाली अस्पतालका कोभिड फोकल पर्सन डा. गोविन्द रोकायाले भने– ‘आईसीयू र एचडीयू (हाई डिपेन्डेन्सी युनिट) मा राखेर उपचार गर्नुपर्ने बिरामी बढी देखिएका छन ।’ उनका अनुसार शनिबार आईसीयूमै उपचाररत एक पुरुषको श्वास–प्रश्वासको समस्याका कारण मृत्यु भएको हो । अहिले आईसीयूमा ५ र एचडीयूमा ७ जनाको उपचार भइरहेको छ । यसबाहेक कोभिड अस्पतालमा थप ३८ जनाको उपचार भइरहेको छ । कान्तिपुरबाट