बाँके – बाँकेमा कोरोना संक्रमणका कारण गत २४ घण्टामा सात बिरामीको उपचारको क्रममा मृत्यु भएको छ।

बितेको २४ घण्टामा बाँकेमा उपचाररत सातजना संक्रमितको मृत्यु भएको छ। जानकी गाउँपालिका-१ बाँके निवासी ७१ वर्षीय महिला, बैजनाथ गाउँपालिका–६ बाँके निवासी २८ वर्षीय पुरुष र वनगाड कुपिण्डे नगरपालिका–३ सल्यान निवासी ५६ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको हो भने राजापुर नगरपालिका–९ बर्दिया निवासी ४२ वर्षीय पुरुष र बैजनाथ गाउँपालिका–२ निवासी ६५ वर्षीय पुरुषको दिउँसो मृत्यु भएको हो। यसैगरी भेरी अस्पताल नेपालगञ्जमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका-८ त्रिभुवनचोक निवासी ३५ वर्षीय पुरुषको शुक्रबार राति मृत्यु भएको स्रोत व्यक्ति वलीले बताए। योसँगै कोरोना संक्रमणका कारण बाँकेमा हालसम्म ज्यान गुमाउनेको संख्या ७६ पुगेको छ।

भेरी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा आज थप २५० मा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा २६९ जनाको नमुना स्वाब परीक्षण गर्दा २५० जनामा भाइरस संक्रमण पुष्टि भएको छ।