महेन्द्रनगर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैंडाको संख्यामा वृद्धि भएको छ । ६ वर्षको अवधिमा निकुञ्जमा गैंडाको संख्या ४ ले वृद्धि भएको हो । सन २०१५ मा गरिएको राष्ट्रिय गणनाको तुलनामा गैंडाको संख्या ४ ले बढेको हो । राष्ट्रिय गणना कार्यक्रम अन्तर्गत चैत १९ देखि २५ गतेसम्म गरिएको गणना अनुसार निकुञ्जमा गैंडाको संख्या ३ भाले, ४ पोथी, ६ पहिचान खुल्न नसकेको र ४ केटो गरी १७ पुगेको हो । सन २०१५ मा गरिएको राष्ट्रिय गणनामा यहाँ गैंडाको संख्या ८ थियो । सन् २०१७ मा चितवन राष्ट्रिय निकुञ्जबाट ५ गैंडा स्थानान्तरण गरिएको थियो । ‘अघिल्लो राष्ट्रिय गणनाका आधारमा गैंडाको संख्या बढेको छ ।’ निकुञ्जका सहायक संरक्षण अधिकृत रवीन चौधरीले भने– ‘गत वर्ष गरिएको अनुगमनमा पनि १७ नै भेटिएको थियो ।’ उनले गैंडाको संख्यामा केही वृद्धि भए पनि सन्तोषजनक भने नरहेको बताए ।