दार्चुला । दार्चुलाका ९ वटै स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममा दर्ता भएका आधारमा बेरोजगार समावेश गर्नुपर्ने भएपनि स्थानीय तहहरुले दल निकटका व्यक्ति र आफन्तलाई समावेश गर्ने गरेको पाइएको छ । स्थानीयहरुले प्रधानमन्त्री रोजगार कार्यक्रममा पर्नुपर्ने व्यक्ति नपरी नेताहरूले आफ्ना मानिसहरूलाई काम दिइरहेको आरोप लगाए ।
दार्चुलाका ९ स्थानीय तह अन्तर्गत ३ हजारभन्दा बढीले काम पाएका छन ।

वर्षभरिमा एक सय दिन बराबरको रोजगार दिने गरी सबै स्थानीय तहले बेरोजगारलाई यो कार्यक्रममा सहभागी हुन सूचना गरेको थियो । रोजगार व्यवस्थापन सूचना प्रणाली (ईएमआईएस) मा जिल्लाभरिबाट १३ हजार ५ सय ३५ जनाले रोजगारीका लागि निवेदन दिएका थिए, जसमध्ये ३ हजार २ सय ४० जनाले अनुदान पाएका छन । अनुदानका लागि जिल्लाका सबै स्थानीय तहमा १६ करोड ७४ लाख ८९ हजार बजेट निकासा भएको छ । एक व्यक्तिलाई एक सय दिन बराबरको अनुदान रकम उपलब्ध भएको छ । बेरोजगार व्यक्तिले एक दिन बराबरको श्रमिकका लागि दैनिक न्यूनतम पारिश्रमिक ५ सय १७ रुपैयाँ निर्धारण गरिएको छ । कार्यक्रम अन्र्तगत ग्रामीण सडक निर्माण, घोडेटो बाटो निर्माण, सडक मर्मत, विद्यालयको घेरपर्खाल निर्माण, मन्दिर निर्माण, खानेपानी, सिँचाइ नहर निर्माणलगायत कार्यहरूमा काम भइरहेको छ ।