बझाङ : बझाङमा खडेरीले उत्पादन पा्रयःशुन्य छ । लामो समयसम्म परेको खडेरीका कारण खाद्यान्न संकट निम्तिएको छ । भदौदेखि राम्रोसँग पानी नपरेका कारण खडेरीले पूरै जमिन डढेको छ । भने उम्रेको बीउ पनि फल्न पाएन । खेतबारी सबै बाँझो भयो ।

स्थानीय गणेश सायरले हिउँदे बाली खडेरीले सखाप पारेकाले सयौं परिवार भोकमरीको चपेटामा पर्ने निश्चित भएको बताए । खडेरीका कारण जयपृथ्वी नगरपालिका, बुंगल नगरपालिका, वित्थडचिर, केदारस्युँ, दुर्गाथली, छविसपाथिभेरा र खप्तड छान्ना गाउँपालिकाका अधिकांश क्षेत्रमा लगाइएको हिउँदेबाली सुकेर नष्ट भएको छ । सुर्मा, मस्टा, तल्कोट र साइपाल गाउँपालिकामा पनि लगाइएको हिउँदे बाली खडेरीको चपेटामा परेको छ । ‘पहिला मानो छरे मुरी फल्ने ठाउँमा यो पाला पाथी बीउले मानो पनि उब्जिएन,’ जयपृथ्वी नगरपालिका कैलाशका भरत कामीले भने– ‘रुडा (खडेरी) ले गर्दा माटो खरानी जस्तै भएको छ । आदै (आर्द्रता) नभएपछि उम्रेको बीउ पनि सुक्यो । हामी त भोकै मर्ने भयौं ।’ उनले सामान्य अवस्थामा वार्षिक १०÷१५ क्विन्टल हिउँदे बाली फलाउने किसानको खेतमा यो वर्ष एक क्विन्टल पनि उब्जनी नभएको बताए । ‘सिमार (छिपछिपे पानी भइरहने खेत) तिर खेत हुने कसैकसैले एक दुई कट्टा (५० किलोको बोरा) भित्र्याए होलान । धेरैजसोले त अन्नको गेडोसम्म देख्न पाएनन ।’ उनले भने ।

कतिपय गाउँका किसानले उम्रिएको बाली खेतमा सुक्न थालेपछि फल नलाग्दै घाँसको रूपमा बस्तुभाउलाई खुवाएको र कतिपयले खेतमा आगोसमेत लगाएको बताए ।खडेरीका कारण बालीनाली सुकेको बारे स्थलगत अध्ययन गरिरहेको एक टोलीले सिँचाइ सुविधा नभएका ठाउँहरू खडेरीबाट नराम्ररी प्रभावित भएको बताएको छ । ‘९० प्रतिशतभन्दा बढी किसानले यो वर्ष हिउँदेबाली देख्नसमेत पाएका छैनन्,’ सुदूरपश्चिम खाद्य अधिकार सञ्जालका संयोजकसमेत रहेका अध्ययन टोलीका एक सदस्य बलबहादुर रोकायाले भने– ‘कृषिकै भरमा जीवन चलाइरहेका सयौं परिवार यो वर्ष भोकमरीको चपेटामा पर्ने देखिएको छ ।’ उनले खडेरीपीडित किसानलाई तत्काल राहत र रोजगारीका अवसर उपलब्ध गराउन सरकारले तत्काल पहल थाल्नुपर्ने बताए ।