महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले फोहोरमैला व्यवस्थापन केन्द्रको टुङ्गो लगाउन नसक्दा राजमार्ग छेउमै फोहोर विर्सजन गरेको छ ।
नगरपालिकाले डम्पिङ साईटका लागि ठाउँको खोजी सुरु गरेकोे दुई दशकभन्दा बढी भयो । सुरुमा डम्पिङ साइटका लागि जमिन खोजी भयो । पाँच बिघा जमिनका लागि सूचना नै प्रकाशित भयो । तर डम्पिङ साइटका लागि जमिन दिन कोही तयार भएनन । पछिल्लो पटक भीमदत्त नगरपालिकामा एसियाली विकास बैंकको ग्रामीण सहरी विकास कार्यक्रम (आरयूडीपी) लागू भएपछि फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको विषय अगाडि बढेको छ । तर यसमा पनि तीन वर्षको अवधिसम्म जमिन खोज्न सकिएको छैन ।

कार्यक्रमअन्तर्गतका अन्य पूर्वाधार निर्माणको काम अघि बढे पनि एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि भने प्रगति शून्य छ ।
भीमदत्त नगरपालिकाले चुरे फेदीको वडा नं. ३, ७ र ८ को सिमानामा रहेको सिद्ध सामुदायिक वनमा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि ठाउँ छनोट गरेको छ । तर स्थानीयको विरोधका कारण निर्माण कार्य अघि बढ्न सकेको छैन । ‘फोहोरमैला व्यवस्थापनका लागि जमिन खोजी गर्न लागेको २०÷२५ वर्ष भयो ।’ भीमदत्त नगरपालिकाको योजना कार्यान्वयन एकाइका प्रमुख इन्जिनियर गोरखबहादुर सिंहले भने– ‘आरयूडीपी सुरु भएदेखि हामी निरन्तर त्यसकै प्रयासमा छौं, सुरुमा सबैले हुन्छ भन्छन्, तर जब काम अघि बढाउन खोज्छौं विरोध हुन्छ ।’
आरयूडीपी कार्यक्रमअन्तर्गत भीमदत्त नगरपालिकामा फोहोरमैला व्यवस्थापन केन्द्रसँगै सडकलगायत पूर्वाधार निर्माणका लागि ३ अर्ब बढी बजेट आउने निश्चित भएको छ । तर त्यसको पहिलो सर्त फोहोरमैला व्यवस्थापन केन्द्र नै हो ।

उक्त काम अघि नबढेसम्म अन्य काम पनि सुरु नहुने प्रावधान छ । कार्यक्रमको कम्तीमा २० प्रतिशत बजेट अर्थात् ६० करोड फोहोरमैला व्यवस्थापन केन्द्रमा खर्च गर्नुपर्ने हुन्छ । उक्त कार्यक्रमअन्तर्गत महेन्द्रनगर बजार क्षेत्रका सडक निर्माणको काम सुरु भएको छ । तर ती काम पनि फोहोरमैला व्यवस्थापन केन्द्रको काम छिट्टै सुरु गर्ने प्रतिबद्धतापछि अघि बढेको हो । त्यसका लागि जमिनको टुंगो अझै लागेको छैन । इन्जिनियर सिंहका अनुसार फोहोरमैला व्यवस्थापन केन्द्रका लागि २५ हेक्टर बढी जमिन आवश्यक पर्छ ।
भीमदत्त नगरपालिकामा दैनिक ११ देखि १४ टन फोहोर उत्पादन हुने अनुमान छ, जसमध्ये दैनिक ७ टन मात्रै संकलन हुने गरेको ठगुन्ना बताउँछन् । उक्त फोहोर अहिले बजार क्षेत्रका खाल्डाखुल्डीमा पुरिँदै आएको छ । यसअघि ठाउँ अभावका कारण नगरपालिका परिसरमै फालिन्थ्यो ।