काठमाडौ । नेदरल्यान्ड्स र मलेसियाबीचको खेल बराबरी खेलेसँगै नेपाल र नेदरल्यान्ड्स ट्राई नेसन ट्वान्टी–२० अन्तर्राष्ट्रिय सिरिजको फाइनलमा पुगेका छन ।
बुधबार भएको खेल वर्षाका कारण दुई पटक गरी १० ओभरमा घटाइएको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले पहिलो पटक १३ ओभरमा घटेको खेलमा १०७ रनको योगफल तयार गरेको थियो । तर, मलेसियाको इनिङमा पुनः पानी परेपछि खेल १० ओभरमा घटेर ९२ रनको लक्ष्य निर्धारण गरिएको थियो । मलेसियाले निर्धारित १० ओभरमा ४ विकेट गुमाएर ९१ रन बनाएपछि खेल बराबरी भयो । बराबरीपछि नेपाल एक खेल अगावै फाइनलमा पुगेको छ । पहिलो खेलमा नेदरल्यान्ड्स र दोस्रो खेलमा मलेसियालाई समान ९ विकेटले पराजित गरेको नेपालको तीन खेलबाट ४ अंक छ । मलेसियाको एक अंक मात्र छ ।