महेन्द्रनगर : छिमेकी मुलुक भारतमा कोरोना संक्रमण तिब्र फैलिइरहेका बेला त्यसको असर सिमावर्ती जिल्ला कञ्चनपुरमा समेत पर्न थालेको छ । रोजगारीका लागि भारत गएका नेपालीहरु कोरोनाको त्रासले घर फर्किने थालेपछि कोरोना संक्रमण ह्वात्तै बढेको छ ।

पछिल्लो केही दिन यता भारतबाट फर्केकाहरुमा मात्रै नभएर स्थानीयहरुमा समेत संक्रमण बढिरहेको छ । सुनसान बनेका आइसोलेसन भरिभराउ बनेका छन भने संक्रमित बढ्दै गएपछि आइसोलेसन थप्ने काम समेत भइरहेको छ । महाकाली अस्पतालमा कोरोना परिक्षण गराउन आउनेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।यसरी कोरोना संक्रमण तिब्र बढिरहेको भएपनि सर्तकता भने शुन्य छ । धेरै भीडभाड हुने महेन्द्रनगर सदरमुकाम र विद्यालयहरुमा स्वास्थ्य सुरक्षाका मापदण्ड बिना दैनिक ओहोर दोहोर हुने गरेको छ । आईतबार महेन्द्रनगर स्थीत भृकुटी माध्यमीक विद्यालयका प्रधानाध्यापकमा कोरोना संक्रमण पुष्टि भएपछि भीमदत्तनगरपालिका ९ दिनका लागि विद्यालय बन्द गरेको थियो ।

मङ्गलबार मात्रै कञ्चनपुरमा ७९ जनामा संक्रमण पुष्टि भएको छ । सुदूरपश्चिम विश्वविद्यालयका दुई जना विद्यार्थी र एक जना प्राध्यापकमा समेत कोरोना संक्रमण देखिएको छ । महाकाली अस्पतालमा गरिएको पिसीआर परिक्षणमा भीमदत्तनगरपालिकाका २३ जनामा संक्रमण पुष्टि भएको हो । त्यसैगरी एन्टिजेन परिक्षणमा ५६ जनालाई संक्रमण पुष्टि भएको हो । जसमध्ये ३५ जना भारतबाट आएका हुन भने अन्य भीमदत्त नगरपालिकाका स्थानीय हुन ।
जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका कम्प्युटर अपरेटर महेन्द्रा भट्टका अनुसार हालसम्म जिल्लामा २ सय ५६ जना एन्टिजेन पोजेटिभ छन भने ८९ जना पिसीआर पोजेटिभ छन ।