काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनुभएको सर्वदलीय बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा प्रतिनिधिसभाका उपसभामुखको निर्वाचन, सांसद खाली भएको ठाउँमा उपनिर्वाचन गर्ने विषयमा समेत छलफल भएको छ । बैठकबारे जानकारी दिनुहुँदै नेकपा (एमाले) का प्रवक्ता प्रदीपकुमार ज्ञवालीले रिक्त रहेको ठाउँमा संवैधानिक व्यवस्थाअनुसार उपनिर्वाचन गर्ने सहमति भएको बताए ।

त्यसैगरी एमसीसी प्रस्ताव संसद बैठमा प्रस्तुत गर्नुपर्ने, सरकारले ल्याउने विजनेस रोक्न नमिल्ने भनाई दलका नेताहरुको रहेको उहाँले जानकारी दिनुभयो । मुलुकको राजनीतिक प्रणालीलाई कमजोर पार्ने प्रबृत्ति देखिएकाले त्यसप्रति सजग हुँदै निरुत्साहित गर्नुपर्छ भन्ने धारणा प्रधानमन्त्रीले राख्नुभएको जानकारी नेता ज्ञवालीले बताए । बैठकमा सहभागी नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले सांसदहरु हटेपछि रिक्त रहेको ठाउँमा उपनिर्वाचन गर्ने बारेमा छलफल भएको जानकारी दिनुभयो । कोभिड १९ उपचारका लागि आइसोलेशन बेड संख्या बढाउनुपर्ने, रोकथामको विधिमा सरकारले ध्यान दिनुपर्ने, जनतालाई त्यसबारे सचेत बनाउनुपर्ने, अहिले नै लकडाउन गरिहाल्न ठीक हँदैन सुझाव आफूहरुले दिएको उहाँले बताउनुभयो ।