काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय स्थानीय तहले गर्न सक्ने जनाएको छ ।
नेपालमा कोरोना भाइरसको संक्रमण निरन्तर बढ्दै गएकाले स्थानीय तहले जोखिम मुल्याङ्कन गरी विद्यालय सञ्चालन तथा बन्द गर्ने निर्णय गर्नसक्ने मन्त्रालयले बताएको हो । विद्यालय सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्णरुपमा परिपालना गर्नसमेत मन्त्रालयले आग्रह गरेको छ ।
शुक्रबार विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले विद्यालयमा अनावश्यक भिडभाड तथा उत्सव नगर्न मन्त्रालयले आग्रहसमेत गरेका छन । मन्त्रालयको विज्ञप्तिमा भनिएको छ । ‘स्थानीय तहको निर्णयअनुसार विद्यालय सञ्चालन वा तोकिएबमोजिम पुनः सञ्चालन गर्न विद्यालय सञ्चालन सम्बन्धि कार्यढाँचा २०७७ अनुसार तोकिएका विधि र प्रकृयाको पालना गर्ने र बन्द वा आंशिक रुपमा सञ्चालन भएका विद्यालयहरु विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ अनुसार सिकाइलाई निरन्तरता दिन अनुरोध गरिन्छ’