महेन्द्रनगर : कञ्चनपुरमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भारतबाट स्वदेश फर्किनेहरुको संख्या बढेपछि कोरोना संक्रमितहरुको संख्या पनि दिनहु बढ्दै गएको छ । कोरोना संक्रमित बढेपछि महाकाली अस्पतालमा कोरोना संक्रमितका बिरामीहरुलाई राख्नको लागि बेडको अभाव भएको छ ।

महाकाली अस्पतालमा रहेको ५० शैयाको आईसोलेसन अहिले ५३ जना बिरामी राखिएको छ । पछिल्लो समय छिमेकी मुलुक भारतबाट नेपाल आउनेहरुमा गड्डाचौकी नाकामा एन्टिजेन परिक्षण गर्दा दैनिक १० देखी १५ जना संक्रमित अस्पताल पुग्ने गरेको महाकाली अस्पतालका कोरोना फोकल व्यक्ति डा.गोविन्द रोकायाले बताए । उनले संक्रमित थपिदै गएकाले अस्पतालमा आइशोलेशन बेड अभाव भएको बताए ।
“हाम्रो क्षमता ५० बेडको मात्रै हो सबै प्याक भइसकेको छ ।” उनले भने–“दैनिक संक्रमित थपिने क्रम बढेको छ ।” उनले सिरियस बिरामीलाई उपचारको लागि धनगढीको सेती अस्पताल पठाउने गरेको बताए । महाकाली अस्पतालमा बेड बेड अभाव हुन थालेपछि स्वास्थ्य कार्यालयले महेन्द्रनगर स्थीत आइसिएचको भवनमा आइशोलेशन बनाउने तयारी गरिरहेको छ । उक्त भवनमा १ सय जना अटाउने गरी आईशोलेशन बनाउने काम भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले एक दुई दिन भित्रै सञ्चालनमा आउने गरी आईशोलेशन तयार गरीरहेको बताए । “आजभोलीमै सञ्चालनमा आउने गरी आइशोलेशन बनाउने तयारी भइरहेको छ ।” सुनारले भने–“लक्षण देखिएकालाई महाकाली अस्पताल र विना लक्षणलाई यहाँराख्ने व्यवस्था मिलाइरहेका छौ ।”
पछिल्लो एक महिनामा महाकाली अस्पतालमा १ सय ७ जना संक्रमित भर्ना भएका थिए । जसमध्ये केही वडा अध्यक्षको सिफारीसमा होम आइशोलेशनमा छन भने केही डिस्र्जाज भएका छन ।

एक महिनामा गड्डाचौकी नाकाबाट १७ हजार नेपाली स्वदेश फर्केका छन भने गौरीफन्टा नाकाबाट १८ हजार नागरीक स्वदेश फर्केका छन । नयाँ वर्ष र सुदूरपश्चिमको प्रमुख पर्व बिसु मनाउन र भारतमा कोरोना संक्रमण तिब्र भएकाले नेपाल फर्कनेको संख्या बढेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता अमर बहादुर थापाले बताए । गड्डाचौकी र गौरीफन्टा नाकाबाट दैनिक १ हजारको संख्यामा नेपाल प्रवेश गरिरहेका छन ।

संक्रमणको दर यसरी बढ्दै गए अस्पतालमा बिरामीलाई राख्नको लागि समयमै ठाउँको व्यवस्थापन गर्न सकिएन भने बिरामीहरुको उपचारमा समस्या तथा कोरोना रोकथाममा पनि समस्या हुन सक्ने चिकित्सकहरुले बताएका छन ।
नाकामा मात्रै नभइर महाकाली अस्पतालमा समेत एन्टिजेन परिक्षण गराउन आउनेको संख्या बढेको छ । चैत्र महिनामा १सय ७० जनाको परिक्षण गर्दा ३६ जनाको पोजेटिभ आएको थियो त्यसैगरी बिशिबार १९ जनाको परिक्षण गर्दा ८ जनाको पोजेटिभ आएको हो ।