काठमाडौं । निर्वाचन आयोगले रिक्त रहेका पदहरुमा उप निर्वाचन गराउन तयार रहेको जनाएको छ । माओवादी छोडेर एमालेमा लागेका नेताहरुलाई नेकपा माओवादी केन्द्रले कारवाही गरेर हटाएको पत्र निर्वाचन आयोगमा पुगेको छ ।
प्रतिनिधि सभाका सांसदहरु टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीले माओवादी पार्टी परित्याग गर्दै एमाले प्रवेश गरेपछि माओवादीले उनीहरुलाई पार्टी सदस्य र सांसद पदसमेत नरहने गरी कारवाही गरेको थियो । चारैजना सांसदहरु पदमुक्त भएको औपचारिक पत्र निर्वाचन आयोगमा पुगेको जनाइएको छ । पत्र प्राप्त भएसँगै चारैजना सांसदको रिक्त स्थानमा उपनिर्वाचन गराउने तयारी आयोगले थालेको हो ।
प्रतिनिधि सभाका सदस्यसँगै प्रदेश सांसद र राष्ट्रिय सभाका सांसदहरुलाई पनि पार्टीहरुले कारवाही गर्ने प्रक्रिया जारी छ । विभिन्न प्रदेशहरूमा सांसद पदहरु रिक्त भइरहेका छन । ती सबै स्थानमा एकैचोटि उपचुनाव गर्ने आयोगको लक्ष्य छ ।