महेन्द्रनगर । नेपालीहरूको नयाँ वर्ष २०७८ सुरु भएको छ । उत्लासका साथ नयाँ वर्ष मनाइँदै छ । सुदूरपश्चिममा भने नयाँ वर्षलाई बिसु पर्वका रूपमा मनाउने गरिन्छ । पराक्रमी हिन्दू सम्राट विक्रमादित्यको जन्मोत्सवको खुसियालीस्वरूप बिसु पर्व मनाउन थालिएको मान्यता छ ।
बिसु पर्व सुदूरपश्चिमवासीको ठूलो चाडमध्येमा पर्छ । यस अवसरमा सुदूरपश्चिमका विभिन्न शक्तिपीठमा पूजापाठ गरिन्छ । विशेषगरी, पूजापाठ नयाँ वर्षको दिन चल्छ । यो पर्व मनाउन बाहिर रहेका दाजुभाइ घर फर्किन्छन् भने छोरीचेली माइत जाने गर्छन ।
देवरले भाउजुलाई एक–अर्कालाई सिस्नोले हानेर बिसु वर्ष मनाउने परम्परा छ । वैशाख सुरु भएसँगै रोगव्याधी, महामारी र अनिकालको समय सुरु हुन्छ । सिस्नु लगाउँदा शरीरका सबै विषाक्त वस्तु नष्ट हुने, छालाको रोग निको हुने र वर्षभरि रोगव्याधीले नछुने मान्यता छ । संक्रान्तिको दिन बिहानै नुहाएर सिस्नो लगाउँदा नयाँ वर्षमा विषालु जीवबाट बच्न सकिने धार्मिक मान्यता समेत रहेको छ ।
बिसु पर्व सुदूरपश्चिमका विभिन्न ठाउँमा फरक तरिकाले मनाइने गरिन्छ । यसर्थ, यसमा पकाइने परिकार ठाउँ पिच्छे फरक–फरक छन । विशेषगरी, बिहान खिर, सेलरोटी र भात खाने गरिन्छ । बिसु पर्व मनाउन विवाहित छोरी÷चेलीमा आ–आफ्नो माइतीघर जाने चटारो पनि देखिएको छ । यसैगरी नोकरीको सिलसिलामा भारतमा रहेका नेपालीहरु केही समयका लागि भए पनि यो पर्व मनाउन जन्मघर फर्किइरहेका छन ।
कोरोना सङ्क्रमणको समस्याका बीच बिसु पर्व मनाउन कञ्चनपुरको गड्डाचौकीलगायतका सीमा नाका हुँदै स्वदेश भित्रिनेहरु बढ्दै गएका छन ।