काठमाडौँ, ३१ चैत : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पूर्व मन्त्री दिलेन्द्र प्रसाद बडूले प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका कारण देश गम्भिर मोडमा पुगेको बताएका छन् । दार्चुला काठमाडौँ सम्पर्क मञ्चले आज काठमाडौँमा नयाँ वर्ष २०७८ का अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेता बडूले आगामी निर्वाचन ओलीको नेतृत्वमा नभइ कांग्रेसको नेतृत्वमा हुनुपर्नेमा जोड दिए ।
बिगतका निर्वाचनहरु पनि कांग्रेसकै नेतृत्वमा सम्पन्न भएको उल्लेख गर्दै उनले ओली सरकारले लोकतान्त्रिक विधिबाट निर्वाचन गराउन नसक्ने ठोकुवा समेत गरे । ओलीले देशलाई गलत बाटोका डोर्याउँदै लगेको आरोप लगाउँदै केन्द्रीय सदस्य बडूले अहिलेकै अवस्थामा ओलीले चुनाव गराउन नसक्ने बताए । ओलीले निर्वाचनमा फेरी दुई तिहाई ल्याउने दम्भ देखाउने गरेपनि त्यसमा षडयन्त्रको गन्ध आएको उनले बताए ।
विपक्षी दलहरु, नागरिक समाज र सञ्चार जगत ओलीको भनाइबाट सशंसकित भएको भन्दै नेता बडूले ओलीले वास्तवममा चुनाव नै गराउन नचाहेको आरोप लगाए । ओलीले एकातर्फ आफ्नो पार्टीमा सबैलाई पाखा लगाउँदै गएको र अर्कोतर्फ एमालेले दुई तिहाइ ल्याउने कुरालाई कांग्रेसले गम्भिर रुपमा लिनुपर्ने उनले बताए । आफुले पटक पटक संसदमा ओलीको राजिनामा मागेको कुरा प्रष्ट पार्दै नेता बडूले ओलीमा रत्तिभर पनि नैतिकता नभएको आरोप लगाए ।
ओलीका विरुद्ध सडक संघर्षमा गएका पार्टीहरुको नेतृत्वमा नयाँ सरकार बन्नुपर्नेमा जोड दिँदै उनले यसका लागि कांग्रेसभित्र एकमत हुनुपर्ने बताए । चुच्चे नक्सा बनाउने ओलीको नक्कली राष्ट्रवादबारे जनताले थाहा पाउँदै गएको नेता बडूले बताए । आफुले संसदमा नेपाली भूभाग अतिक्रमणका बारेमा बेलाबेलामा आवाज उठाउँदै आएको उनले बताए । भारतले धारचुलामा एकतर्फी रुपमा निर्माण गरिरहेको तटबन्धबारे संसदमा आवाज उठाएपछि समस्या समाधानका लागि भारतीय पक्षसँग बार्ता गर्न सरकार एउटा टोली दार्चुला पठाउन बाध्य भएको नेता बडूले बताए ।

पार्टीमा एकता आवश्यक भएको उल्लेख गर्दै उनले अहिलेको अवस्थामा पार्टी एक ढिक्का भएर अघि बढ्नुको विकल्प नभएको बताए । दार्चुलामा कांग्रेस एक भएको प्रष्ट पार्दै केन्द्रीय सदस्य बडूले सबै नेता कार्यकर्ताले पालैपालो अवसर पाउने बताए । जिल्लामा समावेशी टोली बनाइ पार्टी मजबुद बनाइने स्पष्ट पार्दै उनले अबका दिनमा वडा वडामा पार्टी बलियो बनाउन छलफल र कार्यक्रम गर्ने बताए । वडावडामा कांग्रेस बलियो नबनाउँदासम्म पार्टीको जित सहज नहुने नेता बडूको भनाइ थियो ।

कांग्रेस महासमिति सदस्य एवम प्रतिनिधिसभा सदस्यका उम्मेदवार विक्रमसिंह धामीले राजनीति मर्यादित र श्रद्धा गर्न लायक हुनुपर्नेमा जोड दिए । राजनीतिमा हालिमुहाली एउटै जातको हुन नहुने बताउँदै उनले पार्टीमा सबैलाई उचित स्थान दिनुपर्ने बताए । कांग्रेस पुरानो पुस्ताका भरमा मात्र चल्ने नसक्ने स्पष्ट पार्दै नेता धामीले पार्टीमा असल व्यक्तिको प्रवेश आवश्यक भएको बताए । पार्टीमा चाकरी भन्दा पनि सल्लाहको आवश्यकता रहेको उनको भनाइ थियो ।

प्रदेशसभा सदस्यका उम्मेदवार मदन गिरीले पार्टी एकढिक्कका भएर नगए आगामी निर्वाचनमा परिणाम सोचे जस्तो आउन नसक्ने बताए । कम्युनिष्टहरु फुट्दैमा कांग्रेसीहरु हौँसिन नहुने उनको भनाइ थियो । दार्चुलामा कांग्रेसभित्र कुनै गुट उपगुट नभएको उल्लेख गर्दै नेता गिरीले क्रियाशिल सदस्यता बढाए पनि पार्टीले मत त्यसअनुरुप प्राप्त गर्न नसकेको बताए ।

प्रदेशसभा अर्का उम्मेदवार जगदिश पालले पार्टीभित्र एकता भए मात्र निर्वाचनमा जित हासिल हुने बताए । पार्टीमा सबैले स्थान पाउनुपर्ने बताउँदै उनले यसका लागि नेतृत्व वर्गले सबैलाई मिलाएर लैजानुपर्नेमा जोड दिए । कांग्रेस आफ्नै कारण निर्वाचनमा हार बेहोर्दै आएको उनको भनाइ थियो ।

कांग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानका केन्द्रीय सदस्य शम्भु जोशीले कांग्रेस संगठन सुधारमा लाग्नुपर्ने बताए । निर्वाचनमा जित्न पार्टीमा सबैको सहयोग आवश्यक भएको उनको भनाइ थियो । राजनीति सम्मानका लागि गर्ने हो अपमानका लागि होइन भन्दै जोशीले पार्टीभित्र काखापाखा गरिन नहुनेमा जोड दिए ।

कांग्रेस महाधिवेशन प्रतिनिधि उमेशसिंह खत्रीले पछिल्लो समय राजनीतिमा पैसा र मसलको प्रयोग बढ्दै गएकोमा चिन्ता व्यक्त गरे । कुनै पनि निर्वाचन जित्न युवाको साथ चाहिने बताउँदै उनले पार्टीमा युवा वर्गलाई आकर्षित गर्नुपर्नेमा खत्रीले जोड दिए ।

नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष गणेश भट्टले संगठन कमजोर बने निर्वाचनमा जित सहज नहुने बताए । पार्टीका नेता तथा कार्यकर्ताले आफ्ना कमीकमजोरीको आत्मआलोचना तथा आत्मसमिक्षा गर्नुपर्नेमा उनले जोड दिए ।

कांग्रेस नेता चन्द्रसिंह सामन्तले व्यक्ति होइन संगठन बलियो बनाउनुपर्ने बताए । पार्टीको अधिवेशनमा वडादेखि केन्द्रसम्म सही व्यक्तिको छनोट गरिनुपर्ने उनले बताए । पार्टीमा सुदृढीकरण र सुद्धिकरण आवश्यक भएको उनको भनाइ थियो ।

कार्यक्रममा कांग्रेस नेता केशव बहादुर सिंह, अधिवक्ता शंकरदत्त बडू, नेपाल शिक्षक संघ दार्चुलाकी अध्यक्ष हेमन्ती सिंह, नेपाल प्रेस युनियनका केन्द्रीय परिषद् सदस्य विक्रम गिरी, कांग्रेसका स्थानीय नेता नरेन्द्रप्रसाद भट्ट, नेपाल विद्यार्थी संघका नेता विष्णु बोहरा र नेपाल शिक्षक संघकी प्रतिनिधि दुर्गा हमालले आ आफ्नो धारणा राखेका थिए । शुभकामना आदान प्रदान कार्यक्रममा नेपाल विद्यार्थी संघका नेता नविन जोशीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन सम्पर्क मञ्चका गणेश खत्रीले गरेका थिए ।

उक्त कार्यक्रमको अध्यक्षता दार्चुला काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष केशरसिंह भण्डारीले गरेका थिए । अध्यक्ष भण्डारीले कोरोना महामारीका कारण मञ्चले समय समयमा कार्यक्रम आयोजना गर्न नसकेको बताए । कोरोनाको अवस्था हेरी आगामी वर्ष कार्यक्रम आयोजना गरिने उनले बताए ।