बझाङमा भाइरल ज्वरोको संक्रमण बढेसँगै जिल्लाका स्वास्थ्य संस्थामा बिरामीको चाप बढदै गएको छ । सुरुवातमा विद्यार्थीमा देखिएको भाइरल ज्वरो अहिले समुदायस्तरमा पनि देखिन थालेको हो ।
एक महिनाअघि बझाङको साइपाल गाउँपालिका–४ मा रहेको धुली माध्यमिक विद्यालय धुली र धलौन माध्यामिक विद्यालयका विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि एक हप्ताका लागि विद्यालय बन्द गरिएको थियो । अहिले वित्थडचिर गाउँपालिका- ५ मा रहेको भूमिराज आधारभूत विद्यालयका विद्याथीमा भाइरल ज्वरो देखापरेको छ । विद्यालयमा भाइरल ज्वरो फैलिएपछि पाँच दिनका लागि विद्यालय बन्द गरिएको छ । विद्यालयमा मंगलबारदेखि एक दुई जनामा देखिएको ज्वरो बिहीबारसम्म सबै विद्यार्थीमा देखापरेको विद्यालयका शिक्षक रघुवीर महरले बताए । उनले भने, ‘विद्यार्थीमा ज्वरो आउने, टाउको दुख्ने, बेहोस हुने, चिच्याउने, खान मन नलाग्ने जस्ता समस्या देखिएका छन् ।’
विद्यालयमा ३५ जनालाई एकै दिन यो लक्षण देखिएपछि विद्यालयले गाउँपालिकाको शिक्षा शाखालाई जानकारी गराएर विद्यालय बन्द गराएको महरले बताए । एक हप्ताअघि गाउँपालिकाकै सुनकुडा माध्यामिक विद्यालयमा पनि विद्यार्थीमा पनि भाइरल ज्वरोको लक्षण देखापरेको थियो । विद्यार्थीमा पनि भाइरल ज्वरोको संक्रमण तीव्र रूपमा फैलिएपछि विद्यालय बन्द गर्नुपर्ने अवस्था आएको वित्थडचिर गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक हरी अवस्थीले बताए । मौसममा आएको परिवर्तनसँगै विद्यार्थी मात्र नभएर गाउँपालिकामा समुदायस्तरमा पनि ज्वरोका बिरामी बढेका छन् ।
