महेन्द्रनगर । कारोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जारी गरेको आदेशको अटेरी गर्दै महेन्द्रनगरमा युवा संघको भेला हुदैछ । प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले प्रमुख जिल्ला अधिकारीको आदेशको अटेरी गर्दै शुक्रबार महेन्द्रनगरमा युवा संघको भेला आयोजना गरेका हुन् ।
गत मंगलबार जिल्ला प्रशासन कार्यालय आदेश जारी गर्दै भेला, सभा समारोह, जुलस तथा होली पर्वमा समेत भीडभाड नगर्न आदेश गरेको छ ।

युवासंघले निकालेको जुलुस

तर युवा संघले भने त्यसको अवज्ञा गर्दै महेन्द्रनगरको स्मारकमै भेलाको आयोजना गरेपनि प्रशासन कार्यालय भने मुकदर्शक बनेको छ । उता, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक उमा प्रसाद चर्तुवेदले भने आफूहरु प्रमुख जिल्ला अधिकारीको आदेश अनुसार अगाडी बढ्ने बताउछन् । उनले कार्यक्रम रोक्ने विषयमा आफूलाई कुनै आदेश नआएको बताउदै सो बारे प्रशासनमै बुझ्न अनुरोध गरे । “हामीलाई अहिलेसम्म कार्यक्रम रोक्न कुनै आदेश आएको छैन,” उनले भने “हामी सीडीओ साबको आदेश अनुसार अगाडी बढ्ने हो । एकपटक उहाँसँग नै बुझ्नुहोेस न ।”

प्रशासनको समन्वयमा कार्यक्रम : युवा संघ
राष्ट्रिय युवा संघ नेपालका नेताहरुले भने आफूहरुले प्रशासनकै समन्वयमा कार्यक्रम भइरहेको दावी गरेका छन् । राष्ट्रिय युवा संघ नेपालका जिल्ला संयोजक प्रशान्त भट्टले आफूहरुले प्रशासनको समन्वयमा रहेर कार्याक्रम गरिरहेको बताए । उनले प्रशासनले जारी गरेको आदेशमा पूण निषेधाज्ञा नभएको भन्दै आफूहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर कार्याक्रम गर्न लागेको बताए । उनले आफूहरुले आदेशको अवज्ञा नगरेको दावी गरे ।
उता कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीको रामकुमार महतोले भने आफूहरु कहाँ मौखिम जानकारी मात्रै आएको बताउदै आफूले कार्यक्रम नगर्न भनेको बताए । तर स्रोतले भने प्रशासनले खुल्ला मञ्चमा भन्दा बन्द हलमा कार्याक्रम गर्न सुझाव दिएको बताएको छ ।

पूर्ण निषेधाज्ञा होइनः सीडीओ
जिल्ला प्रशासन कार्यालय प्रमुख जिल्ला अधिकारीको आदेश भन्दै सूचना जारी गरेपनि प्रजिअ रामकुमार महतोले भने पूर्ण रुपमा निषेधाज्ञा नभएकाले हस्तक्षेप नै गर्न नमिल्ने बताएका छन् । उनले आफूहरुले आंशिक रुपमा निषेधाज्ञा गरेको बताउदै स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरेर कार्याक्रम संचालन गर्न आग्रह गरेको बताए ।
“हामीले अहिले पूर्ण रुपमा निषेधाज्ञा गरेका होइनौ, संक्रमण नफैलियोस भने भीडाभाड, सभा, समारोह तथा जुलुल नगर्न आग्रह गरेका हौ,” उनले भने “यो राजनीतिक कार्यक्रम हो । त्यसैले पूर्ण निषेधाज्ञा नभएकाले कार्यक्रम नै रोक्न सकिदैन । महामारी नियन्त्रणको काम प्रशासनको मात्रै काम होइन, यसमा सबैले सहयोग गर्नुपर्ने उनले बताए ।

यस्तो थियो प्रशासनको आदेश