भारतमा कोरोना भाइरसको नयाँ प्रजाति भेटिएको छ । कोरोनाको दोस्रो लहर सुरु भएसँगै नयाँ प्रजातिको ‘डबल म्यूटेन्ट भेरियन्ट’ भेटिएको हो ।भारतमा बुधवारमात्रै करिब ४७ हजारमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । बीबीसी हिन्दीका अनुसार १० हजार ७८७ नयाँ नमूनाहरुको परीक्षण गर्दा ७७१ जनामा नयाँ भेरियन्ट भेटिएको हो ।

७३६ वटा बेलायतको, ३४ वटा दक्षिण अफ्रिकाको र एउटा भने ब्राजिलको भेरियन्ट भेटिएको हो । भारतको नेशनल सेन्टर अफ डिजिज कन्ट्रोलका निर्देशक सुजित कुमारका अनुसार हाल भारतमा संक्रमण उच्च रहेको क्षेत्रमा अलग अलग किसिमको म्यूटेशन प्रोफाइल भेटिएको छ । १५ देखि २० प्रतिशत नमूनामा म्यूटेशन देखिएको छ जुन पहिला भेटिएका भेरियन्टभन्दा फरक छ ।यो नयाँ भेरियन्टबारे थप अध्ययन भइरहेको बीबीसीले जनाएको छ । यसअघिको भेरियन्टले अवस्था चिन्ताजनक बनाउन सक्ने बताइएको थियो । नयाँ भेरियन्टले रोग प्रतिरोधात्मक क्षमतामा असर नगरी संक्रमण फैलाउन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको छ । यो डबल भेरियन्ट पनि खतरानाक हुन सक्ने भन्दै थप सावधानी अपनाउन विज्ञहरुले सुझाव दिएका छन् ।