काठमाडौँ  : सरकारको निर्णयानुरुप सहायता सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) चीनको राजधानी बेइजिङ जाने भएको छ । कोभिड-१९ लगायतका अत्यावश्यक स्वास्थ्य सामग्री लिन निगमको वाइड बडी ए ३३० जहाजले चीनको ‘बेजिङ क्यापिटल अन्तरराष्ट्रिय विमानस्थल’मा यही चैत १५ गते उडान भर्ने भएको हो ।

बेजिङबाट स्वास्थ्य सामग्री लिएर निगमको जहाज भोलिपल्ट राति(सोमबार) काठमाडौँ अवतरण गर्ने निगमको उडान तालिका रहेको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले    जानकारी दिइन् । चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले मित्रराष्ट्र चीनबाट प्रदान गरिने कोभिड-१९ विरुद्धको खोप ‘भेरासेल’ लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो । त्यही  सरकारी निर्णयबमोजिम चीन सरकारले उपलब्ध गराउने वस्तुगत अनुदान स्वीकार गर्ने निर्णय भएअनुरुप आठ लाख मात्र कोभिडविरुद्धको खोपलगायत सहायता सामग्री लिन निगमको जहाज बेइजिङ जाने तयारी भएको जनाइएको छ ।
 
बेजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलबाट ढुवानी गर्न कलसाइन आरए ४२५१ द्वारा आइतबार काठमाडौँ-बेइजिङ उडान गर्ने निगमको तयारी बमोजिम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग समन्वय भइरहेको पनि उनले जानकारी दिए ।  

कोभिड महामारीबाट विश्‍व अर्थतन्त्र एवम् सामाजिक अवस्थामा प्रतिकूल असर परिरहेका बेला पुनः त्यसको नयाँ स्वरुपले थप समस्या सिर्जना गरेको छ । नेपालको परिवेशमा नागरिकसम्म पहिलो मात्राको पहुँच सहज गराउन संघीय सरकार दत्तचित्त भइरहेका सन्दर्भमा निगमले दायित्व निर्वाह गरेको जनाइएको छ ।