काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू पार्टीका अध्यक्ष केपी ओलीसँग छुट्टिइहाल्ने पक्षमा नभएको बताएका छन् । आफूहरुको ‘मायाप्रीति’ ४८ वर्ष पुरानो भएको भन्दै सजिलै नतोडिने उनको भनाइ थियो ।

आज आयोजित आफ्ना गुटनिकट युवाहरुको भेलामा नेपालले लामो समय ओलीको आलोचनामा खर्चिएका थिए । त्यसका बाबजुद ओलीसँग नछुट्टिने बताए । नेपालले भने, ‘हामी केपी ओली विरुद्ध संघर्ष गछौं, तर उहाँसँग छुट्टिइहाल्ने पक्षमा छैनौं । केपी ओलीसँगको मेरो मायाप्रिती कहाँ एक रातमा टुट्छ ? हाम्रो मायाप्रीति ४८ वर्ष पुरानो हो । हामी एकताको हात बढाउन चाहन्छौं ।’ ओलीले वैठकका लागि फोन गरेको सन्दर्भ उनले पुन कोट्याए । आफू भएको भए फोन गर्नेभन्दा निवासमै पुगेर फकाउने उनको भनाइ थियो । ‘म अध्यक्ष भएको भए घरमै पुगेर, ढोका खोलेर, बेड रुममा पसेर किन रिसाउनुभो भनेर गाला मुसार्ने थिएँ । फकाउन म जान्दछु नि । उहाँको काम होइन ? गार्जियनको काम नै हो फकाउने तर उहाँले त्यो गर्नुभएन’ नेपालले भने ।