झरोको धैँसोले
काला परेका,
अध्याँरो नै अध्याँरोले ढाकिएका
हामी एक हुल पुतलीहरु
तिम्रो शहरमा बलेको बिजुली देखेर
रमाउँदै गाउँ छोडी आएका हौँ
उज्यालोको खोजीमा
तिमीले शहरबाट पठाएका
बस, ट्रक र ट्याक्टरका पछिपछि
सुनौलो भविष्यको सपना बोकेर
जसरी बिर्खे बझाङ्गबाट
बले बैतडीबाट
दले दार्चुलाबाट
आले अछामबाट
डल्ले डोटीबाट आदि आदि……
हामी पुतली जस्तै
हातको चिराँग फालेर
अध्याँरोमा दौडिदै
बिजुलीको उज्यालो खोज्न
एक हुल कविहरू पनि आएका हुन
तिम्रो शहरमा उज्यालो खोज्न
उज्यालोको खोजीमा
जब हामी तिम्रो शहर पुग्यौँ
महाशय गाउँभन्दा नि अध्यारो देखियो
तिम्रो शहर
शायद लोडसेटिङले होला
यहाँका अध्यारा गल्लीहरुमा घुम्दा
थुप्रै टर्च र ब्याट्रीहरु किन्यौ
तिम्रा अध्यारा गल्लीहरुमा उज्यालो पार्न
भुलमान गएर कुलमान नआउँदासम्म
तिम्रो शहरमा किनेका टर्च र ब्याट्रीको मूल्य जोडे
तिम्रो जस्तै घर बन्थ्यो होला
तिम्रै शहरमा
हामी पुतली र ती कविहरुलाई
उज्यालो आएर पनि सुख छैन
त्यही उज्यालाका चिम वरिपरि
रमाएर घुमिरहदा
त्यसैको तातोमा परी
हाम्रा कतिपय साथीहरुका प्वाँख जले
कति बिहान कुचोले बडारेर
तिमीले नै बाहिर फाल्यौ
त्यस्तै हो ती अध्यारा गल्लीहरुलाई
टर्चको उज्यालो दिएर डुलेका कविहरुको पनि
तिम्रो शहरमा जब
लालपूर्जाको फोटोकपीका आधारमा
बिजुलीका मिटर बाडिन्छन्
महाशय फेरी पनि अध्याँरोमै बस्न बाध्य हुन्छन्
हामी एक हुल पुतलीले
उज्यालो खोज्न
चिमको वरिपरी घुमेजस्तै
तिम्रो शहरको उज्यालो नपाएका
एक हुल लालपूर्जा विहीन कविहरु