बैतडी : दोगडाकेदार गाउँपालिका–६ स्थित चौलानी नदीमा आज एक युवक मृत फेला परेका छन्।

मृत फेला पर्नेमा दार्चुलाको लेकम गाउँपालिका–१, सेजालीका ३५ वर्षीय रमेश कार्की रहेको गोकुलेश्वर प्रहरी चौकीका इन्चार्ज नरेन्द्र धामीले जानकारी दिए।  उनका अनुसार नदीको बीच भंगालोमा कार्कीको शव फेला परेको हो।  ‘उनको कसरी मृत्यु भयो भन्ने यकिन हुन सकेको छैन’, धामीले भने, ‘नदीले बगाएर ल्याएको जस्तो देखिन्छ, थप अनुसन्धान हुँदैछ।’ गत शुक्रबार शिवरात्रि मेला हेर्न गोकुलेश्वर गएका कार्की घर नफर्केपछि खोजतलास गर्दै जाँदा चौलानीमा मृत भेटिएका हुन्।  घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।