कञ्चनपुरमा अज्ञात समूहबाट आफू अपहरणमा परेको र सामूहिक बलात्कारको सिकार भएको भन्दै किशोरीले प्रहरीलाई झुटो बयान दिएको पुष्टि भएको छ ।

पुनर्वास नगरपालिका-२ मोतिबस्ती बस्ने १४ वर्षीया किशोरीले आफूलाई अपहरण गरी सामुहिक बलात्कार गरिएको भन्दै परिवार तथा प्रहरीलाई झुक्याइन् ।उनले शुक्रवार साँझ साढे ७ बजेतिर कलम किन्न नजिकैको पसलमा जाने क्रममा मोटरसाइकलमा आएका ३ जना युवकहरूको समूहले अपहरण गरी अज्ञात स्थलमा लगेको र बलात्कार पछि मध्यरातमा सोही ठाउँमा छोडेर गएको भन्ने बयान दिएकी थिइन् ।तर, २४ घण्टा नबित्दै किशोरीले झुटो बयान दिएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिए ।

‘उनले ३ जनाले अपहरण गरेको र बलात्कार गरेको बताएकी थिइन्, तर त्यो झुट रहेछ’ डीएसपी क्षेत्रीले भने, ‘किशोरीले प्रेमी भेट्न गएको र घर फर्किन ढिला भएपछि परिवारको डरले नाटक गरेको खुलेको छ ।’किशोरीले परिवारकै अगाडी आफू अपहरणमा नपरेको र प्रेमीलाई भेट्न गएको स्वीकार गरिसकेको समेत प्रहरीले जनाएको छ ।प्रहरीले किशोरीका १५ वर्षीय प्रेमीलाई समेत नियन्त्रणमा लिएको छ । प्रेमी माथि जबरजस्ती करणी अन्तर्गत अनुसन्धान भइरहेको उनले बताए । ‘किशोरीको उमेर कम छ त्यसैले जबरजस्ती करणी अन्तर्गत अनुसन्धान गरिरहेका छौं’ डीएसपी क्षेत्रीले बताए ।