काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पेरिसडाँडाबाट रुवाबासी गर्दै विदावारी भएर हिँडेकाहरुलाई पार्टीमा आउन प्रशस्त समय मिलोस् भनेर आफूले चैत ७ गते केन्द्रीय कमिटी बैठक बोलाएको बताएका छन् ।

भृकुटीमण्डपमा शनिबार आयोजित अखिल नेपाल महिला संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले ७ गतेको बैठकको जानकारी पाइएन भन्न कसैले नपाउने भन्दै सार्वजनिक रुपमा बैठकको मिति र स्थान घोषणा गरे । ओलीले भने– उहाँहरु पेरिसडाँडाबाट भर्खर अर्याल होटलमा आइपुग्नुभएको छ रे । एक दुई रात त्यहाँ बास बसेर आउनुहोस् भनेर चैत ७ गते बालुवाटारमा बैठक बोलाएको छु । कसैले थाहा पाइनँ नभन्नुहोला, अनुपस्थित रहँदै जानुभयो भने विधान व्यवस्थाअनुसार हुँदै जानेछ । माधव नेपाल पक्षले बालुवाटरमा बस्ने बैठकमा नजाने निर्णय गरिसकेको छ । एमालेको विधानमा लगातार तीनपटक बैठकमा अनुपस्थित भएमा कारवाही हुने व्यवस्था छ । ओलीले त्यसतर्फ संकेत गरेका हुन् ।