काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सत्ताबाट हटाउन कसैले सक्छ भने हटाएर देखाउन चुनौति दिएका छन् । एमाले अध्यक्ष समेत रहेका ओलीले कसैले मोर्चा कसेर हटाए २० महिनापछि फेरि दुई तिहाई बहुमतका साथ सिंहदरवारको मूलगेटबाट पस्ने दावी गरे ।अखिल नेपाल महिला संघको राष्ट्रिय भेलालाई शनिबार काठमाडौंको भृकुटीमण्डमा सम्बोधन गर्दै प्रधानमन्त्रीले भने– २०७३ मा पनि मलाई हटाएका थिए, १९ महिनापछि झण्डै दुई तिहाई बहुमतका साथ सिंहदरवार फर्केँ । अहिले पनि कसैले सक्छ भनेर हटाएर देखाए हुन्छ,२० महिनापछि फेरि यो सूर्य चिन्हधारी नेकपा एमाले दुई तिहाई बहुमतका साथ सिंहदरवारको मूलगेटबाट भित्र पस्छ ।ओलीले एमालेलाई प्रतिपक्षमा बस्न कुनै डर नभएको बताए । सरकारमा भए देश बनाउने र प्रतिपक्षमा भए देश बनाउने तयारी गर्ने एमालेको नीति रहेको ओलीको भनाइ थियो ।