महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयले शुल्क वृद्धि गरेको प्रति नेपाल विद्यार्थी संघले आपत्ती जनाएको छ । विश्वविद्यालयले मनोमानी रुपमा केन्द्रिय क्याम्पस र आंगिक क्याम्पसमा शुल्क वृद्धि गरेको भन्दै नेविसंघले विरोध जनाएको हो ।
नेपाल विद्यार्थी संघका निर्वतमान केन्द्रिय सदस्य कैलाश चन्दले सुदूरपश्चिम विश्वविद्यालयले मनोमानी रुपमा शुल्क वृद्धि गरेको बताए । उनले गरिब तथा सर्वहारा अभिभावकको ढाड सेक्ने गरी विश्वविद्यालयले शुल्क वृद्धि गरेको टिप्पणी गरेका छन । “सुप विश्वविद्यालय गरिबका छोराछोरी पढ्ने विद्यालय हो ।” चन्दले भने–“विश्वविद्यालयमा पुरानै पढाई छ,सुविधा केही छैन शुल्क वृद्धि गरिएको छ यसको हामी घोर विरोध गर्छौ ।” उनले विश्वविद्यालय पूर्ण सरकारी स्वामीत्वमा रहेको बताउँदै शुल्क वृद्धिको कुनै औचित्य नभएको बताए । त्यसैगरी नेविसंघका नेता नागेश पन्तले शुल्क वृद्धिको कुनै औचित्य नभएको बताए ।“पहाडबाट गरबिका छोराछोरी पढ्न यहाँ आउछन,विश्वविद्यालयले न्युनतम शुल्क कायम गर्नुपर्छ ।” पन्तले भने–“विश्वविद्यालयको शुल्क वृद्धि हामीलाई स्वीकार्य हुदैन ।”
विश्वविद्यालयले भने केन्द्रिय क्याम्पस र आंगिक क्याम्पसको शुल्कमा एकरुपता कायम गरेको जनाएको छ । विश्वविद्यालयका प्रवक्ता गोविन्द बल्लभ पन्तले विश्वविद्यालयका सबै क्याम्पसहरुमा शुल्कमा एकरुपता ल्याएको बताए । “विश्वविद्यालयका १६ वटा आंगिक क्याम्पसमा शुल्कमा एकरुपता थिएन ।” उनले भने–“क्याम्पसका प्रमुख र डीनहरुको बैठकले रिफारिस गरिएको शुल्क कायम गरिएको छ । ” उनले अरुको तुलनामा विश्वविद्यालयमा न्युन शुल्क रहेको बताए ।
मानविकि तथा सामाजिकशास्त्र संकायमा डीन मुकुन्द कलौनीले विश्वविद्यालयका क्याम्पसमा कतै कम शुल्क कतै बढी शुल्क रहेकाले सबै क्याम्पसहरुमा शुल्कमा एकरुपता कायम गरिएको बताए । “कतै बढेको हुनसक्छ कतै घटेको होला ।” उनले भने–“हामीले विश्वविद्यालयका १६ वटै आंगिक क्याम्पसको शुल्मा एकरुपता ल्याउनले प्रयास गरेका हौ ।” विश्वविद्यालयले यसवर्ष स्नाकोत्तरतहमा शुल्क वृद्धि गरेको छ । गतवर्ष रु ६ सय परिक्षा शुल्क थियो यसवर्ष बढाएर रु १ हजार पुगाएको यस्तै सेमेष्टरको शुल्क पनि गतवर्षको तुलनामा दोब्बरले बढाएको छ ।