महेन्द्रनगर :कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलकेनीकी माया मडै झन्डै एक वर्षपछि शुक्रबार सीमावर्ती बजार बनबासा पुगिन् । नाकामा नाम टिपाएर भारतीय अटो रिक्सामा चढेर सिधै बनबासा पुगेकी उनी घरायसी उपभोगका बस्तु किनेर फर्किइन् । लकडाउसंँगै नाका बन्द भएपछि उनी पहिलो पटक सीमावर्ती बजार पुगेकी हुन् ।

‘धेरैपछि बनबासा गयौं, किनमेल गरेर फर्कियौं,’ शुक्रबार बिहान गड्डाचौकी नाकामा भेटिएकी मडैले भनिन्, ‘पहिले त पारि जान धेरै गाह्रो थियो, अहिले केही सहज भएपछि किनमेलका लागि गएका हौंँ ।’ लकडाउन हुनुअघिसम्म उनी महिनामा एकपटक उपभोग्य वस्तु खरिदका लागि बनबासा पुग्ने गर्थिन् । सरकारले माघ ११ मा भारततर्फ आवागमन सहज बनाउन ३० वटा नाका खुला गर्ने निर्णय गरेको थियो । कञ्चनपुरको गड्डाचौकी नाका भने सरकारले उक्त निर्णय गरेको झन्डै डेढ महिनापछि केही सहज भएको हो । भारतीय नागरिक नेपाल प्रवेश गर्न भने अझै कडाइ नै गरिएको छ ।

यसअघि नाकामा घण्टौं लाइन लागेर नेपालतर्फ नाम टिपाउने र भारततर्फ पनि लाइन लागेर स्वास्थ्य परीक्षणपछि मात्रै जान दिने गरिएको थियो । बिहीबारदेखि नाम दत्र्ता गराएर विना जाँच जान दिन थालिएको हो । तर, अहिले पनि सवारीसाधन आवागमन भने बन्द नै गरिएको छ । यस क्षेत्रका व्यवसायीले सवारीसाधनको आवागमन पनि खुला गरिनुपर्ने माग गरेका छन् । दुवैतर्फ दशगजासम्मै सवारी साधन पुगेका छन् । तिनै अटोरिक्सा र साना गाडीहरुमा चढेर सीमावर्ती बजारसम्म आउजाउ गरिरहेका छन् ।

यसअघि भारततर्फ स्वास्थ्य परीक्षणका नाममा घण्टौ लाइन लाग्नुपर्ने झन्झट पनि हटेको छ । बिहान ८ देखि १२ बजेसम्म मात्रै भारततर्फ जान पाइने समयावधि पनि बिहान ६ देखि दिउँसो ३ बजेसम्म कायम गरिएको सुरक्षाकर्मी बताउँछन् । भारतीय सुरक्षाकर्मीहरूले नागरिकता वा आधारकार्ड भने अनिवार्य गरेका छन् । ‘पहिलेभन्दा अहिले निकै सजिलो भएको छ,’ भारत उत्तराखण्डको चम्पावतबाट शुक्रबार घर फर्किएका कञ्चनपुरको बेदकोट नगरपालिका–१ दैजीका धनसिंह भण्डारीले भने, ‘अहिले लाइन लाग्नुपर्ने रहेनछ, जाँदा पनि सजिलो भएको छ ।’ उनी ५ दिनअघि मात्रै घरबाट रोजगारीको लागि चम्पावत गएका थिए । १५ वर्षदेखि परिवारसहित चम्पावतमै बसिरहेका उनी भूमिसम्बन्धी समस्या समाधान आयोगमा निवेदन दिनका लागि घर फर्किएका हुन् ।

नेपालीहरूलाई आवागमनमा सहज भए पनि भारतीयलाई भने सहज छैन । भारतीयहरूलाई गृह मन्त्रालयको स्विकृतिमा कोरोना परीक्षणका रिपोर्ट देखाएर मात्रै नेपाल भित्रिन दिने गरिएको छ । गृह मन्त्रालयको वेबसाइटमा रहेको फारम भरेर त्यसैका आधारमा नेपाल भित्रिन दिने गरिएको हो । यस क्षेत्रका उद्योगी व्यवसायीहरूले नाकामा आवागमन सहज बनाउन माग गर्दै पटकपटक प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाउँदै आएका छन् । लामो समयदेखिको लकडाउन र नाका बन्दका कारण सीमावर्ती क्षेत्रको व्यापार व्यवसाय ठप्प हुन पुगेको व्यवसायी बताउँछन् । पूर्णागिरि मेला नजिकिँदै गर्दा ब्रह्मदेव क्षेत्रका व्यवसायीले पनि नाका खुलाउन माग गरेका छन् । उनीहरूले प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाएका छन् ।

सीमा क्षेत्रमा घण्टौं लाइन लाग्नुपर्ने समस्या देखिएपछि सीमावर्ती क्षेत्रका अधिकारीहरूसँंग समन्वय गरेपछि उक्त समस्या सभाधान भएको प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताए । उनले सवारी साधनको हकमा पनि सरकारबाट कुनै निर्देशन नआएकाले तत्काल यात्रु मात्रै आउजाउ सहज गरिएको बताए । ‘सीमामा घण्टौं लाइन लाग्दाको समस्या बुझेर भारतीय पक्षले सहज गरिदिएको छ,’ उनले भने, ‘भारतीयको हकमा भने अनलाइन फारम भरेर मात्रै आउन दिने क्रम निरन्तर छ ।’ अहिले उक्त फारम भरेर दैनिक ५०/६० जना भारतीय आइरहेका छन् ।