कैलाली : अघिल्लो मंगलबार बैतडी पञ्चेश्वरका राजबहादुर चन्दले आफ्नै छोरालाई जाँतोमा पछारेर हत्या गरे । छोराको हत्यापछि उनले बुवा र भाइलाई कुटे ।

११ फागुनमा कञ्चनपुरको बेलौरीकी वसन्ती चौधरीले फरुवा प्रहार गरी श्रीमानको हत्या गरिन् । २८ माघमा कञ्चनपुरकै भीमदत्त नगरपालिका–२ पशुपति टोलमा बुहारी सीता र नाति अर्जुन थापाले ७६ वर्षीय प्रेम थापाको कुटेर हत्या गरे । कुटपिटपछि घाइते भएका थापाको उपचारका क्रममा फागुन १० गते मृत्यु भयो । माघ २१ गते बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कार र हत्या पनि उनकै भाइ नाता पर्ने दिनेश भट्टले गरेका थिए ।

त्यसअघि २७ असोजमा कञ्चनपुर शुक्लाफाँटा– ८ स्थित सुनबरा खोलामा माछा मार्न गएकी कालीदेवी खुनाको उनकै देवरले हत्या गरेका थिए । यी त पछिल्लो केही घटना मात्रै हुन् । गत वर्ष भीमदत्त नगरपालिका–२ उल्टाखामका डम्बर चन्दले १४ वर्षीय छोरा सुर्वण चन्दको धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए । त्यसअघि पनि कञ्चनपुर भीमदत्त नगरपालिका, ८ तिलाचौरका केशव कार्कीले श्रीमती सरस्वती कार्कीको हत्या गरेका थिए । सोही दिन गोदावरी नगरपालिका–१० ओलानीकी २२ वर्षीया लक्ष्मी बडैलाले प्रेमी दीपक खत्रीसँग मिलेर श्रीमान् तेजबहादुर विष्टको हत्या गरिन् । त्यतिबेलै भजनी नगरपालिका–९ भुरुवामा निर्मला राजीले प्रेमी दिलिप राजीसँग मिलेर पति नन्दु राजीको हत्या गरेकी थिइन् ।

त्यसलगत्तै कैलालीको लम्की चुहा नगरपालिका– ९ प्रतापुरमा धारिलो हतियार प्रहार गरी इन्द्र चौधरीले आफ्नै श्रीमती गर्भी चौधरीको हत्या गरे ।केहि समयअघि मात्रै कैलालीको घोडाघोडी नगरपालिका– ११ सिसैयामा ५५ वर्षीय उदे रावतले ७५ वर्षीय बुवा काल्चे रावतलाई धारिलो हतियारले हानेर हत्या गरे । यी त केही प्रतिनिधि घटना मात्रै हुन् । पछिल्लो सुदूरपश्चिम प्रदेशमा घरकलहका कारण हत्यालगायत जघन्य अपराध बढ्दो छ । आवेग र उत्तेजनामा यस्ता घटना बढिरहेको बताउँछन् सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक मुकेश कुमार सिंह । ‘घर भित्रै बिभत्स अपराधका शृंखला बढिरहेका छन्’ एसएसपी सिंह भन्छन्, ‘यो आवेग र उत्तेजनाको परिणाम हो ।’

अधिकांश यस्ता अपराधमा मादक पदार्थ सेवनको प्रभाव धेरै भएको उनको भनाइ छ । जनचेतनाको कमीले पनि पारिवारिक अपराध बढिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रतिक बिष्ट बताउँछन् । ‘पारिवारीक झै–झगडाहरुले ठूलो रुप लिएको पाइएको छ’ उनी भन्छन् ‘यसको लागि सबै भन्दा पहिले चेतनाको स्तर वृद्धि गर्न आवश्यक छ ।’ बदलिँदो सामाजिक परिस्थिति, बढ्दो सामाजिक सञ्जालको प्रयोग, आर्थिक अभावलगायतका कारण अपराध बढिरहेको जानकारहरु बताउँछन् ।नेपाल प्रेसबाट