कैलाली : एमाले–माओवादी ब्युतिएसँगै माओवादी केन्द्रको नेतृत्वमा रहेको सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा परेको छ ।

५३ सदस्यीय प्रदेशसभामाममा एमालेका २५ र माओवादी केन्द्रका १४, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टीका २ जना सांसद छन् । तत्कालीन एमालेका २५ सांसदको समर्थनमा १४ जना सांसद रहेका माओवादी केन्द्रका त्रिलोचन भट्ट मुख्यमन्त्री भएका थिए । दुई पार्टी विगतकै अवस्थामा फर्किएपछि मुख्यमन्त्री भट्टलाई विश्वास जोगाउन सकस परेको छ ।

अब एमालेले कुनै पनि अर्काे दलसँग सहकार्य गरेर सरकार बनाउन सक्छ । तर, माओवादी केन्द्रले एमाले वा कांग्रेसलाई साथमा नलिँदासम्म सरकार अल्पमतमा रहन्छ । यो स्थितिमा सुदूरपश्चिम प्रदेशमा एमालेको नेतृत्वमा नयाँ सरकार बन्न सक्छ । तर तत्काल सरकार गिराउने र नयाँ बनाउने बारे नसोचेको नेताहरु बताउँछन् । ‘हामीसँग पनि स्पष्ट बहुमत छैन’ एमालेका प्रमुख सचेतक तारा लामा तामाङ भन्छन्, ‘अहिले यो सरकारको विकल्पमा अर्काे सरकार गठन गर्ने विषयमा छलफल भएको छैन ।’उनले अहिले वर्तमान सरकारप्रति अविश्वासको प्रस्ताव ल्याउने सोच नभएको पनि बताए ।