महेन्द्रनगर: सरकारले भूमिसम्बन्धी समस्या समाधानका लागि आयोग गठन गरेपछि जिल्लामा वन अतिक्रमण बढेको छ ।
आयोग बनेपछि कञ्चनपुरको कृष्णपुर नगरपालिका स्थीत भेटघाट शिविर र बयलकुन्डी क्षेत्रमा बाढीपीडितका नाममा टहरा बनाउने क्रम तिब्र छ । पीडीतहरुले जग्गा पाउने लोभमा वन क्षेत्रमा धमाधम टहरा बनाउने क्रम बढेको जिल्ला वन कार्यालय महेन्द्रनगरले जनाएको छ । सरकारले भूमिसम्बन्धि समस्या समाधान आयोग गठन गरे पश्चात वन क्षेत्रमा टहरा बनाउने क्रम बढेको डिभिजन वन कार्यालय महेन्द्रनगरका डिभिजन वन अधिकृत अजय विक्रम मानन्धरले बताए । “जग्गा पाउने लोभमा वन अतिक्रमण भइरहेको छ ।” उनले भने–“वनका कर्मचारी र शसस्त्र प्रहरीको सहयोगमा अतिक्रमण हटाइदैछ ।” पछिल्लो समय वन अतिक्रमण गरेर रातारात टहरा वनाउने क्रम बढेको बताउँदै हालसम्म एक सय बढी टहरा हटाइसकेको बताए । “वादी समुदायका महिलाहरु अतिक्रमणमा संलग्न छन हामीले पनि महिला कर्मचारी र शसस्त्र प्रहरी परिचालन गरेका छौ ।” उनले भने–“दैनिक जसो अतिक्रमण हटाउने काम भइरहेको छ ।”


बुधबार मात्रै कञ्चनपुरको कृष्णपुर नगरपालिका भेटघाट शिविरबाट १५ वटा टहरा हटाइएका छन । भेटघाट शिविरमा २०६५ देखि नै टहरा बनाएर बसोबास गर्ने भएपनि पछिल्लो समय टहरा थपिने क्रम बढेको हो । डिभिजन वन कार्यालय,साुमदायिक वन र शसस्त्र प्रहरीको सहयोगमा अतिक्रमण गरी बनाइएका टहरा हटाइएको डिभिजन वन अधिकृत अजय विक्रम मानन्धरले बताए । ८८ हजार २ सय हेक्टर वन क्षेत्र रहेको कञ्चनपुरमा ३ हजार १ सय ९२ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ । डिभिजन वन कार्यालयका अनुसार भीमदत्त नगरपालिकामा २ सय १, वेदकोटमा ६ सय ३३, शुक्लाफाँटामा ८ सय ७९, कृष्णपुरमा १ हजार ८६, लालझाडीमा ३ सय ८१, बेलौरीमा १२ हेक्टर वन अतिक्रमणमा छ ।