बैतडी : संस्कृत पढ्ने विद्यार्थी संख्या घटेसँगै जिल्लामा यो विषयको पढाइ नै बन्द हुने अवस्थामा पुगेको छ। संस्कृत पढ्ने विद्यार्थीको संख्या पछिल्लो समय निकै घटेको छ।

भाषाको जननी संस्कृत शिक्षा पछिल्लो समयमा संकटमा पर्दै गएको शंकर संस्कृत माध्यामिक विद्यालय, मूलखटालीका प्रधानाध्यापक रामबहादुर बिष्टले बताए। उनले भने, ‘यो शिक्षाकाबारे कमजोर बुझाइ भएका कारण आकर्षण घट्दै गएको छ, पहिलेको तुलनामा संस्कृत पढ्ने विद्यार्थी संख्या निकै थोरै छ।’

बैतडीका दुईवटामा विद्यालयमा माध्यमिक तह सम्म संस्कृत शिक्षाको पढाइ हुने भएपनि विद्यार्थीको संख्या प्रत्येक वर्ष कम हुँदै गएको छ। कुनैबेला संस्कृत पढाइ हुने विद्यालयमा विद्यार्थीहरूको चाप थेगि नसक्नुहुन्थ्यो भने अहिले एक/दुई जनाले मात्रैए संस्कृत शिक्षा पढ्ने गरेका छन्। बैतडीको शंकर संस्कृत माध्यामिक विद्यालय मूलखटाली र सरस्वती माध्यामिक विद्यालय नगतडीमा मात्रै संस्कृत शिक्षाको पढाइ हुने गरेको छ।   सो विद्यालयमा अहिले कक्षा १० मा संस्कृत पढ्ने ३ जना मात्रै विद्यार्थी रहेका छन्। शिक्षा विकास तथा समन्वय इकाई बैतडीका अनुसार सरस्वती माध्यामिक विद्यालय, नगतडीमा १४ जनाले संस्कृत पढिरहेका छन् भने शंकर संस्कृत माध्यामिक विद्यालय, मूलखटालीमा ३ जना मात्रै छन्। यद्यपी; सरकारले संस्कृत पढ्ने विद्यार्थीहरूलाई मासिक ५ सय छात्रवृत्ति दिँदै आएको छ।

भाषाहरूकै जननी भएपनि गलत बुझाइका कारण संस्कृत शिक्षाप्रति आकर्षण घट्दै गएको जानकारहरू बताउँछन्। संस्कृत शिक्षामा भएका सकारात्मक कुराहरूको प्रचार-प्रसार नहुनाले संस्कृत शिक्षाप्रतिको आकर्षण घट्दै गएको महाकाली साहित्य संगम बैतडीका अध्यक्ष चन्द्रमोहन तिवारीले बताए। नेपाली र अन्य भाषाको पठन र लेखनमा समेत शुद्धता ल्याउने भएपनि संस्कृत शिक्षा पढ्नेको संख्या घटेसँगै शुद्धसँग नेपाली भाषा पठन र लेखन गर्न सक्ने नागरिक पनि घट्दै गएका छन्। उनले भने, ‘संस्कृत शिक्षामा नैतिकता र अनुशासनका पाठ भएकाले संस्कृत पढेका विद्यार्थीहरू अन्यको तुलनामा सभ्य र शालीन हुने भएपनि पछिल्लो समयमा यो भाषाका विद्यार्थीहरू कम हुँदै गएको छ।’

संस्कृत भाषा पढाइ हुने विद्यालयमा संस्कृत पढ्ने विद्यार्थी नहुँदा साधारण तर्फको पढाइ शुरू गरिएको शंकर संस्कृत माध्यमिक विद्यालय, मूलखटालीका प्रधानाध्यापक बिष्टले बताए। उनले भने, ‘संस्कृत पढ्ने विद्यार्थीको अभाव हुन थालेपछि साधारण पढाइ शुरु गरेका छौं।’संस्कृत विषयलाई कुनै वर्ग र जाति विशेषले मात्रै पढ्नुपर्छ भन्ने मान्यताका कारण पनि यसप्रतिको आकर्षण घट्दै गएको स्थानीय जयानन्द भट्टको भनाई छ। उनले भने, ‘कुनै वर्ग विशेष नमानेर सबैले यो विषय पढ्ने हो भने संकटको अवस्था आउने थिएन।’ संस्कृत शिक्षातर्फ आकर्षण बढाउन स्थानीय सरकारले पनि चासो देखाउनुपर्ने भाषाप्रेमीहरू बताउँछन्‌।