बैतडी: सुदूरपश्चिम प्रदेशलाई देवभूमिका रुपमा चिनिन्छ। यहाँ देवीदेवताका धेरै मठमन्दिर रहेका छन्। यो प्रदेश धार्मिक पर्यटनको सम्भावना बोकेको मुलुकको एक महत्वपूर्ण क्षेत्रका रुपमा पनि चिनिन्छ।

सुदूरपश्चिम प्रदेशकै पहाडी जिल्ला बैतडीमा पनि धार्मिक पर्यटनका लागि कैयौँ सम्भावना  रहेको छ। काठमाडौँपछि सबैभन्दा धेरै मन्दिर भएको जिल्लाका रूपमा बैतडी चिनिन्छ। बैतडी अमर शहीद दशरथ चन्दको जन्मथलो पनि हो।

यहाँ धार्मिक तथा अध्यात्मिक पर्यटक भित्र्याउन सकिने थुप्रै शक्तिपीठ तथा मठमन्दिर रहेका छन्। सात बहिनी भगवतीमध्ये बैतडीमा चार बहिनी भगवतीको मन्दिर रहेको छ। दशरथचन्द नगरपालिकामा निङ्गलाशैनी र त्रिपुरासुन्दरी भगवती, पुर्चौडी नगरपालिकामा डिलाशैनी भगवती र मेलौली नगरपालिकामा मेलौली भगवतीको मन्दिर रहेको छ। यी भगवतीका मन्दिरमा बलिसहितको पुजाआजा हुने गरेको छ। निङ्गलाशैनी भगवती मन्दिरमा दशैँको महाअष्टमीका दिन सुदूरपश्चिम प्रदेशकै सबैभन्दा बढी पशुबलि चढाइन्छ।  यहाँका भगवती मन्दिरमा भव्य जात्रासहित हुने पूजाआजामा सुदूरपश्चिमका साथै छिमेकी राष्ट्र भारतबाट पनि दर्शनार्थी आउने गर्दछन्।

यहाँका शक्तिपीठमा पूजाआजा गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रहिआएको निङ्गलाशैनी भगवती मन्दिरका पूजारी देवदत्त भट्टले बताए। उनले भने, “भाकल गरेर मनोकामना पूर्ण भएपछि धेरै दर्शनार्थी यहाँ पूजाआजाका लागि आउने गर्दछन्।” यसका साथै यहाँ नेपालको सबैभन्दा गहिरो गुफा पत्ताल भुवनेश्वर, ईश्वरी गंगाधाम, उदयदेव मन्दिर, दोगडा धाम, ग्वाल्लेक धाम, देउलेककेदार, जगन्नाथ मन्दिर, रौलाकेदार राताशिला, भिटाकेदार, महारुद्र, शिवनाथलगायतका थुप्रै मठमन्दिर तथा पर्यटकीयस्थल रहेका छन्।  

महामारी कम भएपछि चहलपहल बढ्यो 
कोरोना भाइरसका कारणले सुस्ताएका यहाँका धार्मिक पर्यटकीय क्षेत्रमा अहिले चहलपहल बढ्दै गएको छ। कोरोना भाइरसको महामारीका बेला मेला जात्रासमेत बन्द हुँदा सुनसान रहेका यहाँका मठमन्दिरमा दर्शनार्थी तथा पर्यटकको चहलपहल बढ्न थालेको उद्योग वाणिज्य सङ्घ बैतडीका अध्यक्ष नरबहादुर चन्दले जानकारी दिए।

उनले भने, “कोरोना महामारीले सुस्ताएको धार्मिक पर्यटन पनि अब बिस्तारै लयमा फर्किंदैछ।” कोरोनाको महामारीले गर्दा देशको धेरै क्षेत्र मर्कामा परेको र त्यसमा पनि सबैभन्दा बढी पर्यटन क्षेत्रलाई मार परेकोले अब यहाँका सम्भावनाहरुको खोजी गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनुपर्ने उनको भनाइ छ।  

त्रिपुरासुन्दरी भगवती मन्दिर

सरकारले घोषणा गरेको एक सय नयाँ पर्यटकीय गन्तव्यको सूचीमा पर्न सफल प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिर पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण बन्न थालेको छ।

कोरोना महामारीका बेला दर्शनार्थीको सङ्ख्यामा कमी आएको भएपनि अहिले भने बिस्तारै दर्शनार्थी बढ्न थालेका त्रिपुरासुन्दरी रणशैनी भगवती क्षेत्र विकास समितिका अध्यक्ष तथा मन्दिरका मुखिया पदमबहादुर चन्दको भनाई छ। कोरोना महामारी रोकिएपछि धार्मिक पर्यटकीय क्षेत्रहरुमा पनि पर्यटकको सङ्ख्या बढ्न थालेको हो। उनले भने, “हाल दैनिक १५/२० जना दर्शनार्थी तथा पर्यटक आउने गरेका छन्”

सरकारले एक सय नयाँ पर्यटकीय गन्तव्यमा छनोट गरेपछि त्रिपुरासुन्दरी मन्दिरमा पुग्ने दर्शनार्थी तथा पर्यटकका लागि आवासको व्यवस्था गरिएको त्रिपुरासुन्दरी रणशैनी भगवती क्षेत्र विकास समितिले जनाएको छ। शक्तिशाली भगवती त्रिपुरासुन्दरीको मन्दिरमा असार महिनामा अषाढी जात, साउन अथवा भदौमा रक्षाबन्धनका दिन बोगाल, कात्तिक शुक्ल नवमीका दिन कार्तिक जात खोलिन्छ। असोज र चैतको नवरात्रिमा दशमीसम्म नियमित पूजा गरिन्छ।

निङ्गलाशैनी भगवती मन्दिर

प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा पनि पछिल्लो समय दर्शनार्थीको सङ्ख्या बढिरहेको छ। महामारीमा मेला जात्रामा समेत रोक लगाएकोले दर्शनार्थी नआएको भए पनि अब भने खुल्न थालेका निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका सचिव कृष्णप्रकाश बोहराले बताए। उनल भने,“महामारीको बेला सुस्ताएको थियो, अहिले दर्शनार्थी बढ्न थालेका छन्।”

निङ्गलाशैनी भगवतीको मन्दिरमा भाद्र शुक्ल चतुर्दशी, असोजको महाष्टमी, मङ्सिर शुक्ल पूर्णिमा र चैतको अष्टमीका दिन विशेष जात्रा हुने गर्दछ।मेलौलीमा रहेको मेलौली भगवती मन्दिरमा पनि पर्यटकको चहलपहल हुन थालेको छ। हाल सडक सञ्जालले जोडिएकोले सहज रुपमा यहाँसम्म आउन सकिने मेलौली नगरपालिकाका उपप्रमुख राधा ओझाको भनाई छ। उनले भने,“यातायातको सुविधा पुगेसँगै पर्यटक पनि सहजै रुपमा आउन थालेका छन् ।”

सदरमुकाममै रहेको जगन्नाथ मन्दिर, ईश्वरी गंगा धाम पनि यहाँका धार्मिक पर्यटकीय क्षेत्र हुन्। यी ठाउँमा पनि आन्तरिक पर्यटकहरु आउन थालेका छन्। यस्तै जिल्लाका अन्य स्थानामा रहेका मठमन्दिरमा पनि चहलपहल बढ्न थालेको छ।  

पत्ताल भुवनेश्वर धाम

नेपालकै सबैभन्दा गहिरो गुफाका रुपमा रहेको पत्ताल भुवनेश्वर गुफा यहाँको मुख्य पर्यटकीय गन्तव्य हो। यस क्षेत्रलाई पत्ताल भुवनेश्वर धामका रुपमा पनि लिने गरिन्छ । यस क्षेत्रमा रहेका कहिल्यै नसुक्ने प्राकृतिक ताल, नेपालकै सबैभन्दा गहिरो गुफा, कोणधारी जंगल, पत्ताल भुवनेश्वरको मन्दिर हेर्न लायकका ठाउँहरू हुन्।

यहीँ एक प्रसिद्ध महादेव मन्दिर छ। मन्दिरको छेउमा तलाउ पनि छ। यस क्षेत्रको मुख्य आकर्षक भने पत्ताल भुवनेश्वर गुफा हो। प्राकृतिक सौन्दर्यले भरिपूर्ण पत्ताल भुवनेश्वर चारैतिर डाँडाकाँडासहितका मनमोहक दृश्य रहेका छन् । साथै यहाँ प्राचीन कालदेखिको एउटा ठूलो गुफा पनि रहेको छ।जुन गुफाको अन्तिम बिन्दुमा दूधको धारा रहेको जनविश्वास छ। बैतडीस्थित पत्ताल भुवनेश्वर गुफा नेपालकै सबैभन्दा गहिरो गुफा रहेको अध्ययनमा देखिएको छ।

केही वर्षअघि ‘इन्टरनेसनल सेन्टर फर दि एक्सप्लोरेसन अफ दि हिमालयज’का अध्यक्ष तथा फ्रान्सेली गुफा विशेषज्ञ मोरिस दुसेन नेतृत्वको टोलीले गरेको प्रारम्भिक अध्ययनअनुसार आठ सय मिटरसम्मको अध्ययन गर्दा पत्ताल भुवनेश्वर गुफाको गहिराइ १ सय ६० मिटर रहेको पत्ता लागेको थियो।आठ सय मिटरभन्दा पर गुफा निकै साँघुरो भएकाले उद्धार टोलीको व्यवस्था नहुँदा गुफाको थप अध्ययन नगरी टोली फर्किएको थियो। यसअघि तनहुँको बन्दीपुरस्थित ६५ मिटर गहिराइको सिद्ध गुफालाई नेपालको सबैभन्दा ठूलो र गहिरो गुफाको रूपमा मानिँदै आएको थियो।

उक्त अध्ययन टोलीले पत्ताल भुवनेश्वर गुफाको थप अध्ययन गरी गुफाको भित्री स्वरुप झल्कने ‘फोटोग्राफी म्याप’ समेत तयार पार्ने योजना रहेको बताएको थियो । पत्ताल भुवनेश्वर गुफाआसपासमा महादेव मन्दिरका साथै पोखरी रहेका छन् भने गुफा कतै साँघुरो र कतै फराकिलो छ।पछिल्लो समय पत्ताल भुवनेश्वर धाम क्षेत्रमा विभिन्न विद्यालयका शैक्षिक भ्रमण, विवाह ब्रतबन्धजस्ता शुभकार्यसमेत हुने गरेका छन्।

चार पर्यटकीय गन्तव्यस्थल छानिए

पर्यटन पूर्वाधार तथा पर्यटन उपजको विकास तथा प्रवद्र्धन गर्ने उदेश्यले बैतडीमा थप चार ओटा पर्यटकीय गन्तव्यस्थल छानिएको छ। स्थानीय पालिकाहरुको समन्वयमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न परियोजना र आयोजनाहरु छनोट गरेको हो।

मन्त्रालयले गरेको प्रस्ताव आह्वानको आधारमा बैतडीको मेलौली भगवती मन्दिर जानेबाटो निर्माण, पार्क निर्माण र घेरपर्खाल निर्माण कार्य छनौट भएको छ। यस्तै रुद्रेश्वर –डिलाशैनी पदमार्ग निर्माण, दोगडाकेदारधाम पर्यटन प्रवद्र्धन र पञ्चेश्वर पर्यटन प्रवद्र्धन आयोजना छनौट भएका मन्त्रालयले जनाएको छ।मेलौली भगवती मन्दिरका लागि सात करोड, रुद्रेश्वर –डिलाशैनी पदमार्गका लागि चार करोड ५७ लाख, दोगडाकेदार धाम पर्यटन प्रवद्र्धनका लागि चार करोड ९७ लाख र पञ्चेश्वर पर्यटन प्रवद्र्धनका लागि रु दुई  करोड ९५ लाख बजेट विनियोजन गरिएको छ।

यसमा सम्बन्धित पालिकाको ३० प्रतिशत र सङ्घीय सरकारको ७० प्रतिशत बजेट समावेश गरिएको जनाइएको छ।

शहीद दशरथ चन्दको जन्मघर

जिल्ला सदरमुकाम नजिकै रहेको शहीद दशरथ चन्दको जन्मघर पनि पछिल्लो समय पर्यटकीय गन्तव्यका रुपमा थप परिचित हुँदै गएको छ। यहाँ आउने पर्यटकहरु दशरथचन्द नगरपालिका– ५ बस्कोट रहेको शहीद चन्दको जन्मघरमा पुग्न थालेका छन्।  

शहीद चन्दको जन्मघर संरक्षणको काम शहीद दशरथचन्द स्मृती प्रतिष्ठानले गरिरहेको छ। जन्मघरको संरक्षण प्रतिष्ठानले गरेपछि यहाँ आउने जिल्लाबाहिरका तथा जिल्लाभित्रै पनि आउने पर्यटकहरु हेर्नका लागि आउने गरेका शहीद दशरथचन्द स्मृती प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले बताए। जीर्ण घरलाई शहीद दशरथ चन्द स्मृति प्रतिष्ठानले दशरथचन्द नगरपालिका र राष्ट्रिय प्रतिभा स्मारक कोषको सहयोगमा मर्मतसम्भार गरेर बस्नयोग्य बनाएको छ। उनले भने,“अहिले घरवरिपरि सरसफाइ गरेर चिटिक्क पारिएको छ।

आँगन फराकिलो बनाइएको छ । घरबाहिर दशरथको सालिक निर्माण गरिएको छ । जन्मघर जाने बाटोमा प्रवेशद्वार निर्माण गरिएको छ।’’ दशरथ चन्द जन्मिएको घरमा निःशुल्क बास बस्न मिल्ने व्यवस्था पनि मिलाइएको छ । प्रतिष्ठानका पदाधिकारीहरुले यसलाई अझै व्यवस्थित गर्ने बताएका छन्। नेपालमा जारी राणा शासनविरुद्ध लाग्ने नेपालका चार शहीदमध्ये एक हुनुहुन्छ दशरथ चन्द। उनको जन्मघरलाई थप व्यवस्थित बनाएर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन प्रयास भइरहेको अध्यक्ष चन्दको भनाइ छ। उनले भने, “शहीदको योगदान र बाल्यकालको अवस्थादेखि लिएर सबै कुरा थाहा पाउने गरी यहाँ विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन्।”

केही महिनायता सुदूरपश्चिमको तराइमा पर्ने जिल्ला कैलालीको धनगढीबाट बैतडीको पाटनका लागि नियमित रुपमा हवाई सेवा पनि सञ्चालन भइरहेकोले पर्यटक भित्र्याउन सहज भएको छ। भारतसँग सीमा जोडिएको जिल्ला भएकोले भारतीय पर्यटक भित्र्याउन पनि सहज भएको छ।