काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कुन पार्टीको हो भनेर सोध्नेलाई अदालत जान चुनौती दिएका छन् ।

अन्तर्राष्ट्रिय महिला दिवस सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने,  ‘हिजो मैले बोलिनँ, प्रधानमन्त्री कुन पार्टीको भनेर सोधिरहेका थिए,’ उनको भनाइ छ, ‘अब मैले सोध्नु नपरोस् – तपाईंहरू कुन पार्टीको ? भनेर । मलाई उहाँहरूले नेकपाको साधारण सदस्यबाट पनि निकाल्नुभयो। म साधारण सदस्य होइन पनि। अदालतले भन्यो नि- म कुन पार्टीको भनेर। हुँदा-हुँदा प्रधानमन्त्री कुन पार्टीको हो जानकारी पाउँ भन्छन्। सर्वोच्च अदालतमा सोध्न जाऊ कुन पार्टीको हो भनेर ।’

पुन:स्थापित संसदको आइतबार बसेको पहिलो बैठकमा पुन:स्थापित माओवादी केन्द्र र एमालेको माधव नेपाल पक्षले सर्वोच्चको पछिल्लो फैसलापछि सरकारको अवस्था स्पष्ट नभएको भन्दै प्रश्न उठाएका थिए। सांसद भीम रावलले प्रधानमन्त्री कुन पार्टीका हुन् ? भनी प्रश्न उठाएका थिए। ओलीले सर्वोच्च अदालतको दुवै फैसला आफ्नो विपक्षमा आएको भए पनि आफूहरुले त्यसलाई मानेर अगाडि बढेको बताए ।