महेन्द्रनगर, : नेपाली सेनाले कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवमा शनिबार आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ७२६ जना स्थानीबासी लाभान्वित भएका छन् ।
आगामी शिवरात्रीका दिन हरेक बर्ष मनाइँने सेना दिवसको पुर्वसन्ध्यामा नेपाली सेनाको श्री २५ बाहिनी अड्डा भगतपुर ब्यारेकले साता व्यापी कार्यक्रम अन्र्तगत स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
त्यसका साथै सेनाले ब्रह्मदेवका रहेका लोपोन्मुख राउटे र वादी समुदायलाई खाद्यान्न, झुल र कम्बल समेत वितरण गरेको छ ।


स्वास्थ्य शिविरमा प्रसुती, आँखा, दात, ल्याव सेवा, इसिजी, भिडियो एक्सरे, जनरल फिजिसियन सेवा प्रदान गरिएको सेनाले जनाएको छ ।
नेपाली सेनाका सह–सेनानी डा. दिलिप पौडेलले शिविरमा जोर्नी दुख्ने, महिलामा पाठेघर र तल्लोपेट दुख्ने, छाला सम्वन्धीका साथै दम, पत्थरी लगायतका रोगका बिरामीहरुले सेवा लिएको बताउनुभयो ।
सेनाको बाहिनी, गण तथा गुल्म, सैनिक श्रीमती संघका साथै स्थानीय तह र कञ्चनपुर उद्योग बाणिज्य संघ, महाकाली अस्पताल, स्वास्थ्य कार्यालयको सहयोग र समन्वयमा भएको कार्यक्रम एक कार्यक्रमका बिच भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले उद्घाटन गर्नुभएको थियो ।
सोही अवसरमा सैनिक टोलीले वृत्रचित्र प्रर्दशन र नृत्य प्रस्तुत गरेको थियो । श्री नं. २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी कृष्णबहादुर जिसील सैनिक दिवसको अवसर पारेर स्वास्थ्य सेवाको पहुँचबाट टाढा र आर्थिक रुपले अभाव रहेका नागरिकहरुको घर दैलोमा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले शिविर आयोजना गरिएको बताउनुभयो ।


“ निमुखा, विपन्न, निकुञ्जबाट स्थातान्तरण गरिएका पाँच वटा स्थानमा हामीले स्वास्थ्य शिविर गर्ने योजना बनाएका छौं ।” उहाँले भन्नुभयो–“ यसमा स्थानीय तह र निजी क्षेत्रको पनि हातेमालो रहेको छ ।”
उहाँले ब्रह्मदेव, बेदकोट नगरपालिकाको जडेपानी र मुसेपानी, शुक्लाफाँटा नगरपालिकाको सिमलफाँटामा साताव्यापी कार्यक्रममा स्वास्थ्य शिविर आयोजना गरिने बताउनुभयो ।