काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ काठमाडौं आइपुगेका छन्। बिहान नवलपरासीबाट गाडीमा हिँडेका उनी केही बेरअघि काठमाडौं आइपुगेका हुन्। 

विप्लव बा १३ च ३१३४ नम्बरको गाडी चढेर बालुवाटार प्रवेश गरेका छन्।  सुरक्षा गस्तीका साथ काठमाडौं आएका उनी सीधै प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। विप्लवले बालुवाटारमा प्रधानमन्त्री केपी ओली र गृहमन्त्री एवम् सरकारी वार्ता टोलीका संयोजक रामबहादुर थापासँग भेट गर्ने कार्यक्रम रहेको उच्च सुरक्षा स्रोतले बतायो। गृहमन्त्री थापा पनि केहीबेर अघि बालुवाटर प्रवेश गरेका छन्। प्रधानमन्त्री ओली र विप्लवबीच राजनीति घटनाक्रम लगायतका बारेमा छलफल हुनेछ। त्यसपछि उनीहरु राजधानीको राष्ट्रिय सभागृहमा आयोजना हुने कार्यक्रममा एकसाथ सहभागी हुनेछन्। त्यहाँ दुई पक्षबीच सहमतिपत्रमा हस्ताक्षर हुनेछ भने दुवैले कार्यक्रमलाई सम्बोधन गर्नेछन्।