काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव) लाई प्रहरीको स्कर्टिङमा आज दिउँसो काठमाडौं ल्याइँदै छ । उनी कसैलाई थाहा नदिइकन काठमाडौं आउने तयारीमा रहे पनि प्रहरीले सूचना पाएपछि नारायणगढबाट स्कर्टिङ गर्दै काठमाडौं ल्याउन लागिएको हो ।

विप्लव पश्चिम नेपालबाट गएराति पूर्वी नवलपरासीको अमरापुरीस्थित बेलबहादुर सारुको घरमा आएर बास बसेका थिए । विप्लव विगतदेखि नै बेलबहादुरको घरमा बस्ने, नेताहरुसँग वार्ता गर्ने गर्दथे । सरकार र पार्टीबीच भएको ३ बुँदे सहमतिपछि विप्लव दुई वर्षपछि आज सार्वजनिक भएका हुन् । महासचिव विप्लवले नवलपरासीमा शहीद परिवारसँग भेटघाट गरेको तस्विर सार्वजनिक गरेका छन् । सरकारले हेलिकप्टर पठाउने तयारी गरेपनि त्यसलाई अस्वीकार गरेका विप्लव गाडीमा काठमाडौँ जाँदैछन् । बिहीबार राति नै देवचुली पुगेका उनलाई शहीद परिवारले टिका लगाएर बिदा गरेका थिए । त्यसअघि उनले पार्टीका कार्यकर्तासँग भेटघाट गरेका थिए । आज नै महासचिव विप्लव र प्रधानमन्त्री केपी शर्मा ओलीले एउटै मञ्चबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।