काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने भएको छ । प्रतिनिधिसभा विघटनको असंवैधानिक प्रयास गरेको, सुशासन कायम गर्न नसकेको तथा जनमतको सम्मान गर्न नसकेको लगायतका निष्कर्षसहित ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न कांग्रेस तयार भएको हो ।

यसबारेमा औपचारिक निर्णय लिन सभापति शेरबहादुर देउवाले आजै पदाधिकारी बैठक बोलाएका छन् भने शुक्रबार (भोलि) संसदीय दलको बैठक बस्दैछ ।सभापति देउवानिकट एक नेताले अविश्वास प्रस्ताव दर्ता गर्ने विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव पक्षसँग सहमति भइसकेको र जनता समाजवादी पार्टीसँग पनि छलफल चलिरहेको जानकारी दिए ।

‘वर्तमान सरकारले नैतिकरूपमा वैधता गुमाइसकेकोले संसदीय प्रक्रियाबाटै यसलाई विस्थापन गर्नुपर्छ भन्नेमा सहमति बनेको छ । केही कानूनी परामर्शमा छौं’ ती नेताले भने ।

प्रतिनिधिसभा पुनःस्थापना भएलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर नेकपा नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सहकार्यको प्रस्ताव गरेका थिए । नेकपा विभाजनको प्रतीक्षा सभापति देउवाले गरेको भएपनि प्रधानमन्त्री ओलीको निरन्तरताले नेकपा विभाजनमा ढिलाइ हुने देखेपछि अविश्वास प्रस्तावमा सहमति जुटेको छ । प्रचण्ड-माधव पक्षले संसदमा दर्ता गरेको अविश्वास प्रस्तावमा प्रधानमन्त्रीको वैकल्पिक उम्मेदवारका रूपमा प्रचण्डलाई अघि सारिएको छ ।