महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–५ की रुपा चौधरी दैनिक सीमावर्ती भारतीय बजारबाट साइकलमा सामान ढुवानी गरेर जीविका चलाउथिन् । भारतीय बजार वनबासाबाट साइकलमा दैनिक १०० क्विन्टलभन्दा माथि दैनिक उपभोग्य लगायतका सामान महेन्द्रनगर बजारसम्म ढुवानी गरेर पाउने पारिश्रमिकले गुजारा गर्दै आएकी चौधरी गत वर्ष चैत महिनादेखि कोरोना भाइरस नियन्त्रणका लागि सरकारले नाका बन्द गरेपछि थला परेकी छिन् । 

“करिब आठ वर्षसम्म भारतबाट कडा परिश्रम गरेर साइकलको सहारामा परिवारको खर्च चलाउँदै थिए”, उहाँले भन्नुभयो, “यो कोरोना भाइरस त गरिबका लागि मात्रै अभिसाप भएछ ।” बन्दाबन्दीमा श्रीमानले पनि मजदूरी गर्न जान नपाएपछि निकै सास्ती झेल्नुपरेको उनको भनाइ छ । पछिल्लो केही महिनायता कोरोना सामान्य बन्दै गएपछि यहाँको सिमाना सहजरुपमा सञ्चालनमा हुने सबैको अनुमान थियो । 

तर अहिलेसम्म सीमानाका सहज हुन सक्दा चौधरी निराश छिन् । “सरकारले पनि यहाँका सीमानाका सुचारु गर्ने निर्णय गरे पनि स्थानीय प्रशासनले सहजरुपमा आउन जान नदिँदा मजदूरी गर्न समेत नपाइने भयो”, उनले भने, “मजदूरी गर्न भारत जाँदा कोरोना नलाग्ने अनि वनबासा गएर सामान ल्याए लाग्ने कुरै भएन् ।”

चौधरीजस्तै सीमावर्ती भारतीय बजार वनबासाबाट दशकौँदेखि महेन्द्रनगरका व्यापारीको सामान ढुवानी गरेर छाक टार्ने विपन्न समुदायका १०० भन्दा बढी महिला यतिबेला विचल्लीमा छन् । महेन्द्रनगरका व्यापारीको माग साइकल ढुवानीका भरमा चलेको छ । कञ्चनपुर उद्योग वाणिज्य सङ्घलगायत यहाँका एक दर्जन सङ्घ÷संस्थाले गड्डाचौकी नाकाबाट आवागमन सहज बनाउन स्थानीय प्रशासनलाई माग गर्दा पनि सुनुवाइ भएको छैन । “यहाँका व्यापारीको माग अनुसार वनबासाबाट साइकलमा सामान ल्याएर दैनिकी चलाइरहेको थिए”, भीमदत्त नगरपालिका–१८ बागफाँटाका विश्ना नेपालीले भने, “अहिले घरमा अरु व्यवसाय गर्न लगानी नहुँदा चुप लागेर बस्नुपरेको छ ।”

कञ्चनपुरको भीमदत्त नगरपालिकाका उपप्रमुख सुशीलाचन्द सिंहले स्थानीय प्रशासनले नाका सहज नबनाएकोमा दुःख व्यक्त गरे । “बन्दाबन्दीका बेला भारतबाट ल्याएर सडेका केरासम्म गाउँ गाउँमा वितरण भए, अवस्था सामान्य हुँदा पनि अहिले ठूला सवारी साधनबाट सामान आएकै छ”, उनले भने, “तर साइकलका भरमा भारतबाट सामान ल्याएर गुजारा गर्ने निम्न वर्ग र साना व्यापारीको पीडा बुझ्ने कोही भएन ।” उनले देशभरका नाकाहरु सहज हुँदा पनि गड्डाचौकी नाका सहज हुन नसकेकोमा दुःख व्यक्त गरेका छन् ।

“पटक पटक नाका सहज बनाउन भनेका पनि छौँ ।” उनले भने, “कोरोना सामान्य बन्दै जाँदा सबैको जीवन सामान्य अवस्थामा फर्काउन पहल आवश्यक छ ।” त्यसैगरी कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जङ्गबहादुर मल्लले नाका खुलाउन स्थानीय प्रशासनले पहल नगरेको बताउछन् । “नाका सजह बनाउने विषयमा सुनुवाई नै भएन”, उनले भने, “भारत आवतजावत गर्ने प्रक्रिया झन्झटिलो हुँदा धेरै यात्रुले सीमामा दुखः पाइरहेका छन् ।” 

कञ्चनपुर भन्सार कार्यालयका कम्प्युटर अधिृकत केशवराज विष्टले ठूला सवारी साधनमा मात्रै भारतबाट सामान आयात भइरहेको बताउछन् । “साइकलबाट विगतमा हुने गरेको ढुवानीले विपन्न वर्गको खर्च चले पनि भन्सार राजश्वमा धेरै फरक पारेको थिएन”, उनले भने, “साइकलमा हुने ढुवानी अहिले गाडीबाट हुँदैछ ।” उनले साइकल, मोटरसाइकलबाट गरिने ढुवानी र भारतीयलाई नेपाल आउन विगतजस्तो सामान्य भइनसकेको बताउछन् ।

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि बन्दाबन्दीसँगै अन्तरराष्ट्रिय नाका बन्द गरिएकामध्ये नेपाल–भारत जोड्ने सबैभन्दा छोटो दूरीको गड्डाचौकी नाका पनि एक हो । गत चैत १० गतेदेखि बन्द गरिएको नाका केही सर्तसहित आंशिक सञ्चालन भए पनि अझैसम्म पूर्ण रूपमा सञ्चालनमा आएको छैन् ।

व्यावसायिक सामान तथा प्रशासनको अनुमतिमा आउजाउ भइरहेको छ । नाका बन्दका कारण चोरी तस्करी बढेको र निश्चित केही व्यवसायीले सेटिङमा सामान ल्याउने गरेका कारण अन्य व्यवसायी मारमा परेको भन्दै नाका सहज रूपमा खुलाउनुपर्नेमा व्यवसायीहरुले जोड दिएका छन् । दुवै देशका नागरिकबीच सामाजिक, आर्थिक एवं सांस्कृतिक सम्बन्ध रहेकाले नाका सहज रूपमा सञ्चालन हुनुपर्नेमा नागरिक समाजका अगुवाहरुले जोड दिएका छन् ।

होटेल व्यवसायी सङ्घ कञ्चनपुरका अध्यक्ष जगदीशचन्द्र भट्टले गड्डाचौकी नाका सहज सञ्चालन हुन नसक्दा महेन्द्रनगरसहित सीमावर्ती क्षेत्रका होटेल व्यवसाय क्षेत्र चौपट भएको बताउछन् । “कोभिड–१९ का कारण लामो समयदेखि घरमै बसेका भारतीय पर्यटकका लागि नजिक र सुरक्षित गन्तव्य नेपाल हो”, उनले भने, “तर, भारतीय नागरिकलाई नेपालमा सहज आउन दिएको छैन ।”

महाकाली यातायात प्रालिका अध्यक्ष डम्बरदत्त पन्तले गृह मन्त्रालयले नाका खोल्ने निर्णय गरे पनि स्थानीय प्रशासनबाट सहज नहुँदा सीमा क्षेत्रमा सास्ती खेप्नुपरेको बताउछन् । नाका सहज रूपमा सञ्चालन नहुँदा यात्रु र यातायात व्यवसायी मारमा परेको उनको भनाइ छ ।