महेन्द्रनगर । बैतडीको दशरथचन्द नगरपालिका–४ देवलहाट ऐतिहासिक र धार्मीक महत्व बोकेको क्षेत्र हो ।
परापूर्वकालमा पाण्डवले वनबासमा रहेका बेला बनाएका देवल छन । यो ठाउँलाई पञ्चदेवल भनिए पनि यहाँ सातवटा देवल छन् । पाण्डवले बनाएका हुनाले पञ्चदेवल भनिएको हो । कुन्ती र द्रौपतीका लागि समेत दुईवटा अलग देवल रहेका छन ।

ऐतिहासिक र पुरातात्विक महत्व बोकेका पञ्चदेवल प्रचारप्रसार नहुँदा ओझेलमा छन । सांस्कृतिक तथा धार्मिक महत्व बोकेका पञ्चदेवलको प्रचारप्रसार हुन नसकेको स्थान्ीयको भनाई छ । परापूर्वकालमा पाण्डवले वनबासमा रहेका बेला एकै रातमा बनाएको जन श्रुति रहेका पञ्चदेवलको प्रचारप्रसार हुन नसकेको पञ्चदेवल शिवघाम सप्तदेवल मन्दिर व्यवस्थापन समितिका अध्यक्ष उद्धव सिंह मार्कण्डले बताए ।
पञ्चदेवलमा पुरानो शिलालेख छ । शिलालेखमा लेखिएका अक्षर कसैले पनि बुझ्न नसक्ने खालका छन ।

बैतडी साहिलेकबाट ३ किमिको दुरीमा रहेको पञ्चदेवलमा शिवलिंग र सहस्त्रलिंग छन । खडेरी परेका बेला प्रार्थना गरेमा पानी पर्ने र पुत्र नभएकाहरुले यहाँ दर्शन गरे पुत्रलाभ हुने जनविश्वाससमेत रहेकाले यसको धार्मिक महत्व निकै भएको स्थानीय अध्यक्ष मार्कण्डको भनाई छ । “पञ्चदेवल पाण्डवहरूले बनाएका हुन भन्ने कथन छ, नजिकै शिवकुण्ड पनि छ ।” उनले भने–“तर यसको महत्वका बारेमा प्रचारप्रसार हुन सकेको छैन ।”
प्रत्येक महिनाको संक्रान्ति र पूर्णिमाका दिन पूजा लाग्ने पञ्चदेवलमा महाशिवरात्रिका अवसरमा विशेष पूजा गरिन्छ । पञ्चदेवलमा निर्माण गरिएका पाँचवटा देवलमा प्रयोग गरिएका ढुंगाहरू सो ठाउँमा नपाइने गरेको स्थानीय जानकार बताउँछन । हरेक देवल तीन तलाका छन । नजिकै शिवकुण्ड छ । सोही कुण्डको पानीले प्रसिद्ध जगन्नाथ मन्दिरमा पूजाआजा गर्ने चलन रहिआएको छ । पञ्चदेवल निर्माणमा प्रयोग गरिएका ढुंगाको पहिचान, त्यसको उत्खनन र प्रचारप्रसार गर्नसके यसलाई तीर्थस्थलका रूपमा विकास गर्न सकिने अध्यक्ष मार्कण्डको भनाई छ । यी देवलको दर्शन र अवलोकन गर्न सीमा जोडिएको भारतको धार्चुला, पिथौरागड र चम्पावतदेखिका दर्शनार्थी आउने गरेको उनले बताए ।

पञ्चदेवलसम्म पुग्न स्थानीयबासिन्दाले चन्दा संकलन गरेर मोटरबाटो बनाइएका छन । यसले पनि आगन्तुकलाई दर्शन गर्न सहज भएको छ । यो ठाउँको विकास र प्रचारप्रसारमा जोेडदिन सके आन्तरिक तथा भारतीय पर्यटक धेरै संख्यामा भित्र्याउन सकिने सम्भावना रहेको छ ।
गाउँको बीचमा रहेको पञ्चदेवल सांस्कृतिक, ऐतिहासिक र धार्मिक महत्व बोकेको क्षेत्र हो । यस क्षेत्रका राजनीतिज्ञले ध्यान नदिदा पनि यसको महत्व प्रसार गर्न कठिन भएको स्थानीयवासीको गुनासो छ ।

महाशिवरात्रीमा मेला लाग्ने
विगतका वर्षहरु जस्तै यस वर्षपनि महाशिवरात्रीको बेला देवलहाटमा मेला लाग्ने भएको छ । धार्मिक, पौराणिक पुरातात्त्विक आध्यात्मिक र सांस्कृतिक उन्नतिको धरोहर मात्र नभएर ऐतिहासिक पर्यटकीय दृष्टिकोणले पनि महत्वपूर्ण रहेको यो क्षेत्रमा संग्राहलय र पुस्तकालय निमार्णका लागि मेला आयोजना गरिने भएको हो । संगा्रहलय र पुस्तकालयका लागि स्थान्ीयबाट चन्दा संकलन सुरु गरिएको पञ्चदेवल शिवघाम सप्तदेवल मन्दिर व्यवस्थापन समितिका अध्यक्ष उद्धव सिंह मार्कण्डले जानकारी दिए । उनले संग्राहलय र पुस्तकालय निमार्णका लागि समेत सहयोग गर्न आग्रह गरेका छन । “यो ठाउँमा हाम्रो बाजेबजैको पालादेखीका ऐतिहासिक भाडाकुडाहरु छन ।” उनले भने–“तीनीहरुको संरक्षणका लागि संग्राहलयको स्थापना गरिन लागेको हो ।” उनले उक्त ठाउँमा १० हजार वर्ष पुरानो पिपलको रुख रहेको बताए ।
परापूर्वकालमा पाण्डवहरू वनवास का समयमा घुमफिर गदै देवलहाट भएको ठाउँमा बास बस्न आईपुगेका र उनीहरूले यस ठाउँमा एकै रातमा शिवलिङ्गको स्थापना गरी साधारण मानव मात्रका शक्तिले हल्लाउन नसकिने पत्थरहरुद्वारा शिवको मन्दिर बनाए मन्ने किम्बदन्ती छ ।

