महेन्द्रनगर :चौथो शुक्लाफाँटा महोत्सवका अवसरमा मंगलबार आयोजना गरिएको विद्यालय स्तरीय वक्तित्वकला प्रतियोगितामा लिटिल बुद्धकी पुजा सोनार पहिलो भएकी छिन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रङ्गणमा आयोजित प्रतियोगितामा उनको सटिक प्रस्तुतिले सबै सहभागिलाई मोहित तुल्याएको थियो । पर्यटकीय सम्भावनाहरुको पुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज शिर्षकमा पुजाले गरेको वर्णनले सबैलाई मोहित बनायो । यससंगै रेडियन्टकी हिमानी थापाले दोस्रो स्थान हासिल गरिन । लिटिल बुद्धकै रोहित भट्टले तृतियस्थान हासिल गर्न सफल भए ।

भीमदत्त नगरपालिकाको आयोजनामा आयोजित उक्त प्रतियोगितामा क्रमशः पहिलोलाई पाँच हजार, दोस्रोलाई तीन हजार पाँचसय र तृतियलाई दुई हजार नगद जनही पुरस्कार उपलब्ध गराईने आयोजक भीमदत्त नगरपालिका पर्यटन विकास समितिका उपाध्यक्ष तथा कार्यक्रमका सभापति कर्णबहादुर चन्दले जानकारी गराए । उनिहरुलाई यहि फागुन १३ गते महोत्सव समापनका दिन पुरस्कृत गरिने छ । वक्तित्वकला प्रतियोगितामा भीनपाका सामुदायिक तथा संस्थागत गरि २३ जना छात्रछात्राले सहभागिता जनाएका थिए । तीन जना निर्णायक समितिले वक्तित्वकला प्रतियोगिताका सहभागिहरुलाई मापदण्ड अनुरुप छनोट गरेका थिए । भीनपाका प्रशासकीय अधिकृत तथा निर्णाक मण्डलमा सरिक शुभाष अधिकारीले वक्तित्वकला प्रतियोगिताका विजयीको घोषणा गरेका थिए । चौथो शुक्लाफाँटा महोत्सवकैं अवसरमा बुधबार ११ बजे भीनपा १३को हात्तीसारबाट एअरपोर्टसम्म साईकल दौडकोआयोजना गरिएको छ ।