शुक्लाफाँटा नगरपालिका नगरपालिका वडा नं ११ स्थित कलुवापुर बजारको सडक अतिक्रमण हटाइने भएको छ । मिति २०७७।११।०५ गते जिल्ला समन्वय समितिमा शुक्लाफाँटा नगरपालिकाका प्रमुख दिल बहादुर ऐर¸ प्रमुख जिल्ला अधिकारी रामकुमार महतो¸ प्रहरी उपरीक्षक उमा प्रसाद चतुर्वेदी¸ जिल्ला समन्वय अधिकारी हरिदत्त भट्ट¸ पूर्वाधार विकास कार्यालयका प्रमुख दीपक नेगी सहित सरोकारवालाहरुको बैठक बसी अतिक्रमण हटाउने निर्णय गरेको हो । एक जिल्ला एक प्रदेश गौरवको आयोनामा परेको बेलौरी–कलुवापुर–नायल–बुडर खण्डको करिब ६० किमी सडक खण्डमा पर्ने कलुवापुर बजार क्षेत्रमा न्यूनतम् १५ मिटर चौडाई सडक हुनु पर्नेमा अतिक्रमण भई ७ मिटरमात्र सडक रहेको छ ।

उक्त बजार क्षेत्रमा सडकको बीचमा डिभाइडर बनाई सोको दुवैतिर ७.५ /७.५ मिटर पक्की सडक निर्माण गरिने छ । सो सडकको क्षेत्राधिकार भित्र बर्षौ पहिलेदेखि अवैध छाप्रा¸ टहरा लगायत संरचना निर्माण गरी सडक अतिक्रमण भएको थियो । सडकमा अवैध संरचना निर्माण गरेमा सम्बन्धित व्यक्ति स्वयंले संरचना हटाउनु पर्ने र सम्बन्धित व्यक्तिले संरचना नहटाएमा आयोजना संचालन गर्ने सम्बन्धित कार्यालयले त्यस्तो संरचना हटाउन सक्ने र त्यसरी संरचना हटाउदा लागेको खर्च समेत सम्बन्धित व्यक्तिबाट असूल उपर गरिने कानूनी व्यवस्था छ । पूर्वाधार विकास कार्यालय कञ्चनपुरले शुक्लाफाँटा नगरपालिका र स्थानीय प्रशासन¸ प्रहरीको सहयोगमा उक्त अतिक्रमण हटाउन लागेको हो । उक्त सडक प्रदेश सरकारलाई हस्तान्तरण भएपछि प्रदेश सरकारले प्रदेश गौरवको आयोजनामा समावेश गरेको छ । उक्त सडक आयोजना पूर्वाधार विकास कार्यालय¸ कञ्चनपुरबाट कार्यान्वयन भइ रहेको छ भने सडक निर्माणको बन्साहा–कलुवापुर–दोमिल्ला सडक खण्डको ठेक्का सन्तोषी थेगिम जेभी धनगढीले ठेक्का पाएको हो ।