महेन्द्रनगर : कञ्चनपुरको गड्डाचौकी नाकामा निर्बाध रुपमा आबागमन हुनुपर्ने माग राख्दै कञ्चनपुरका व्यवसायीहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन ।
सोमबार कञ्चनपुर उद्योग वाणिज्य संघको नेतृत्वमा होटेल व्यवसायी संघ कञ्चनपुर,महाकाली यातायात प्राली,औषधी व्यवसायी संघ,नमस्ते शुक्लाफाँटा यातायात प्राली,पवनदुत यातायात,सुनौलो यातायात प्राली र मण्डी व्यवसायी संघले सयुक्त रुपमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोलाई ज्ञापन पत्र बुझाएका हुन । गत चैत्र ११ गतेदेखी कोरोना महामारीका कारण बन्द भएको नेपाल भारत सिमानाकामा सहज आबागमन नहुँदा कञ्चनपुरको व्यापार व्यवसायमा ठुलो नोक्सानी बेर्हानु परेको भन्दै यहाँका व्यवासायीहरुले यथाशिघ्र नाकामा सहज आवागमन हुनुपर्ने बताएका छन ।
ज्ञापन पत्र बुझाउँर्दै कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंग वहादुर मल्लले नाकामा सहज आवागमन नहुँदा पर्यटनको ठुलो सम्भावना समेत गुम्ने खतरा रहेको बताए । “भारतको पूर्णागीरी दर्शन गरेर कञ्चनपुर स्थीत सिद्धनाथ मन्दिरमा दर्शन गरे मनोकामना पुरा हुने विश्वास रहिआएको छ ,कोरोनाका कारण दर्शनार्थीहरुले आवत जावत नपाँउदा पर्यटनको ठुलो सम्भावना गुम्ने खतरा ।” अध्यक्ष मल्लले भने–“यहाँको ब्रह्मदेव लगायतका सिमावर्ती बजार भारतीय ग्राहकमा आश्रित छन ।” उनले नाकामा अहिले पनि आवागमनका लागि अनेक समस्या झेल्नु परेको बताए । त्यसैगरी होटेल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष जगदीश भट्टले नाका पूर्ववत रुपमा सञ्चालन हुनुपर्ने बताए ।“कोरोना महामारी नियन्त्रण हुदै गएको छ खोप लगाउन सुरु भैसक्यो ।” उनले भने–“नाकामा अन्य मान्छेको आवतजावत भएको छ भारतबाट आउने पर्यटकहरु मात्रै यहाँ आउन पाएका छैनन ।” उनले गड्चौकी नाकामा सहज रुपमा आवागमनका लागि तत्काल पहल हुनुपर्ने बताए ।
ज्ञापन पत्र बुझ्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीले व्यवसायीहरुको माग सरकार समक्ष पुगाउने बताए । “सरकारले पूर्ण रुपमा नाका खोल्ने निर्णय गरेको छैन ।” प्रजिअ महतोले भने–“ हाल निश्चित मापदण्ड तोकेर नाकामा आवत जावत भइरहेको छ ।” उनले नाकामा मालसमान निर्बाध रुपमा आइराखेको बताए ।