महेन्द्रनगर :कञ्चनपुरको भुमीसुधार तथा मालपोत कार्यालयका प्रमुख र नापी कार्यालयका प्रमुखलाई विभागले स्पष्टीकरण सोधेको छ ।
गत माघमा जिल्ला स्थीत सरकारी कार्यालयको निरिक्षणको क्रममा मालपोत कार्यालय र नापी कार्यालयका कर्मचारीहरुले तोकिएको पोशाक नलगाएको, सेवाग्राहीमैत्री नभएको र कर्मचारी उपस्थीत नभएको पाइएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कार्बाहीको लागि सम्बन्धित निकायमा पत्राचार गरेको थियो । प्रशासनको पत्राचारपछि दुबै कार्यालयका प्रमुखसंग विभागले स्पष्टीकरण सोधेको छ । भुमीसुधार तथा मालपोत कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख खेमराज खत्रीले मालपोत कार्यालयका केही कर्मचारीहरुलाई विभागबाट स्पष्टीकरण सोधिएको बताए ।
“गत माघमा सिडिओ साप निरिक्षणमा आएका बेला हाम्रो कर्मचारीहरुले पोसाक नलगाएको र भुलबस एकदिन अगाडीको हाजीरी गरिएको पाइयो ।” मालपोत कार्यालयका प्रमुख खत्रीले भने–“विभागबाट हामीलाई स्पष्टीकरण सोधिएको छ ।” उनले कार्यालयका केही कर्मचारीहरुलाई विभागबाट स्पष्टीकरण सोधिएको बताए । नापी कार्यालय कञ्चनपुरका केही कर्मचारीलाई पनि विभागबाट स्पष्टीकरण सोधिएको छ । गत माघमा कार्यालय निरिक्षणको क्रममा पोसाक नलगाएको पाएपछि सम्बन्धीत विभागको महानिर्देशकलाई पत्राचार गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताउनुभयो ।
सरकारी कार्यालयहरु सेवाग्राहीमैत्री नभएको गुनासो आएपछि प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जिल्लास्थित केही कार्यालयको निरीक्षण गर्नु भएको थियो । निरीक्षणका क्रममा कार्यालय प्रमुखबाहेक कुनैपनि कर्मचारीले पोशाक लगाएको , केही कर्मचारीले हाजिरीमा केरमेट गरेको, भोलिपल्टको हाजिरी एकदिन अगाडी नै लगाएकोे र पूर्वस्वीकृती बिना अनुपस्थित भएको पाइएको थियो ।